08/02/2026, 18:46:52
आइतबार, साउन १७, २०८३
एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६

टोकियो सम्मेलनबाट नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी : प्रेस स्वतन्त्रता, श्रमजीवीको अधिकार र AI नीतिको माग


काठमाडौँ । नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ।

महासङ्घका अध्यक्ष निर्मला शर्मा, पदाधिकारीहरू, प्रदेश र जिल्ला शाखाका नेतृत्वकर्ता, वैदेशिक शाखाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको सम्मेलनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अङ्कुश लगाउन नहुनेमा जोड दिएको छ । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित सम्मेलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रमजीवी पत्रकारका अधिकार कार्यान्वयनमा जोड दिइएको छ।

‘टोकियो घोषणापत्र’का प्रमुख निर्णय तथा मागहरू

प्रेस स्वतन्त्रता र कानुन निर्माण:
संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश नलगाउन जोड।
प्रेसमैत्री वातावरण निर्माण गर्न र सञ्चारसम्बन्धी कानुन संशोधन/निर्माण गर्दा सरोकारवालासँग अनिवार्य परामर्श गर्न आग्रह।

श्रमजीवी पत्रकारका अधिकार:
श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा र सेवा-सुविधाको पूर्ण ग्यारेन्टी।

एआई (AI) र आधुनिक प्रविधि:
कृत्रिम बुद्धिमत्ता (AI) तथा सूचना-प्रविधिको तीव्र विकासले सिर्जना गरेका चुनौती व्यवस्थापनका लागि नीतिगत र नियामकीय व्यवस्था गर्न माग।

प्रवास पत्रकारिता र मताधिकार:
प्रवासमा रहेका नेपाली पत्रकारहरूको योगदानको कदर गर्दै महासङ्घको विधान संशोधन गरी वैदेशिक शाखाका सदस्यहरूलाई चुन्ने र चुनिने (मताधिकार) अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता।

पुरस्कार स्थापना र ज्ञान हस्तान्तरण:
विदेशमा रहेका नेपाली पत्रकारको योगदानलाई सम्मान गर्न ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय।
प्रवासमा रहेका पत्रकारहरूको ज्ञान, सीप र प्रविधिलाई नेपालको सञ्चार क्षेत्रको विकासमा उपयोग गर्ने प्रतिबद्धता।