तेहरान, साउन १५ गते । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतङ्कवादी आक्रमण’ को संज्ञा दिनुभएको छ । उहाँले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
यसैबिच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड (आइआरजीस)का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबफले केशम टापुको घटना मिनाब र लामर्डमा भएका पूर्व घटनाकै निरन्तरता भएको दाबी गर्नुभयो । उहाँले अमेरिकाले युद्धभूमिमा भोगेका असफलताको क्षतिपूर्ति निर्दोष नागरिकमाथि आक्रमण गरेर गर्न खोजेको आरोप लगाउँदै इरानले यसको कडा जवाफ दिने बताउनुभयो ।
गालिबफको प्रतिक्रिया अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानमा आइआरजीसीका दर्जनौँ लक्ष्यविरुद्ध ठूलो सैन्य कारबाही सम्पन्न गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो । सेन्टकमका अनुसार जुलाई २९ को राति सम्पन्न आक्रमणमा आइआरजीसीका सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन केन्द्र, तटीय निगरानी र रक्षा संरचना तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित स्थललाई निशाना बनाइएको थियो ।
अमेरिकी सेनाले जुलाई २८ मा इरानी सेनाले मध्यपूर्वमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी प्रहार गरेका सबै ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरिएको दाबी पनि गरेको छ । सेन्टकमले मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक उच्च सतर्कतासाथ तैनाथ रहेको जनाएको छ । यता इरानले केशम टापुमा भएको भनिएको अमेरिकी आक्रमणको प्रतिउत्तरस्वरूप जोर्डनस्थित अल-अजराक हवाई अड्डामा रहेको अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले अमेरिकी एफ-३५ लडाकू विमान राखिएको क्षेत्र र मर्मत केन्द्रलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । आइआरजीसीले उक्त आक्रमणमा तीनवटा एफ-३५ लडाकू विमान पूर्णरूपमा नष्ट भएको, थप तीन वटा गम्भीररूपमा क्षतिग्रस्त भएको तथा केही अमेरिकी सैनिक, प्राविधिक र मर्मतसम्भार कर्मचारी मारिएको दाबी गरेको छ ।
यी दाबीको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानी पक्षले अमेरिकी सेनाले जोर्डनस्थित आधारबाट सञ्चालन गरेको हवाई आक्रमणमा केशम टापुका दुई आवासीय घर बङ्कर-बस्टर बमबाट ध्वस्त पारिएको, एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको र अन्य दुई बालबालिका घाइते भएको आरोप पनि लगाएको छ । अमेरिकी पक्षले भने यी आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































