

जेनेभा, साउन ९ गते । संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताउनुभयो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजमा कम्तीमा छ हजार नाविक फसेको जनाएको छ । युद्धविरामका बेला पनि उनीहरूको उद्धार गर्न सकिएको थिएन । “सङ्कटग्रस्त पक्षले फसेका नाविकलाई सुरक्षितरूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पुर्याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्छ,” मन्तुले जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो ।


उहाँले भन्नुभयो, “गैरसैनिक जहाजमाथि हुने आक्रमण अस्वीकार्य छ र त्यसलाई रोक्नुपर्छ । उनीहरू अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा संरक्षित छन् ।” प्रवक्ता मन्तुले थप्नुभयो, “मानव अधिकार प्रमुख टर्कले राज्य, जहाज मालिक र अन्य सबै सम्बन्धित पक्षलाई ‘फसेका नाविकको संरक्षण सुनिश्चित गर्न’ तत्काल आग्रह गर्नुभएको छ । यसमा कन्सुलर सहायता, आवश्यक सामग्री उपलब्ध गराउने, उद्धार र स्वदेश फर्काउने कार्य समावेश छ ।”


इरान समर्थित हुथी विद्रोहीले रेड सी मा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ । यसले द्वन्द्वलाई थप तीव्र बनाएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्धअघि विश्वको इन्धन आवश्यकताको करिब पाँच भागको एक भाग तेल ढुवानी हुने गरेको हर्मुज जलमार्ग यातायातका लागि खुला रहेको अमेरिकी सेनाले बताएको छ । इरानले भने ट्याङ्करलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न बाध्य पार्न हर्मुज जलमार्ग हुँदै आवागमन गर्ने ट्याङ्करमाथि आक्रमण जारी राखेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























