07/22/2026, 16:59:25
बुधबार, साउन ०६, २०८३

अमेरिकाले आक्रमण गरे मध्यपूर्वमा युद्ध बिस्तार गर्ने इरानको चेतावनी


तेहरान, साउन ६ गते । इरानको मुख्य सैन्य कमान्ड ‘खातम अल-अन्बिया‘ ले इरानी आणविक र संवेदनशील क्षेत्रमा आक्रमण गरिए अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई लक्षित गरी आक्रमण बिस्तार गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्फहान प्रान्तको आणविक सुविधामा आक्रमण गर्ने धम्की दिएपछि इरानको यस्तो कडा प्रतिक्रिया आएको हो।

यसैबिच इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले आफ्नो आधिकारिक समाचार पोर्टल सेपाह न्यूजमा विज्ञप्ति प्रकाशित गर्दै इरानी सेनाले कुवेतको अली अल सलेम एयर बेस वरपरको प्रारम्भिक चेतावनी रडार प्रणाली र वरपरका धेरै सुरक्षासँग सम्बन्धित रडार नष्ट गरेको जनाएको छ । होर्मुजको जलमार्गमा इरानी सेनाले जहाजलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उदेश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ ।

होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूमाथि भएका आक्रमण र दुवै पक्षबिच जारी मिसाइल तथा ड्रोन प्रहारका कारण गत जुन १८ को शान्ति सम्झौताका बाबजुद क्षेत्रमा तनाव थप उत्कर्षमा पुगेको छ।