07/21/2026, 19:19:20
मङ्गलबार, साउन ०५, २०८३

सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ : बिल लिने उपभोक्ता दैनिक लखपति बन्दै


काठमाडौं, ५ साउन २०८३ । सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउन र उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) र (४) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि जारी गरेको हो।

यस कार्यक्रमअन्तर्गत नेपालभित्र स्वः प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको खरिद गर्दा बिल लिएमा नगद उपहार जित्न सक्नेछन्। कार्यक्रमको सहभागी हुनका लागि बिक्रेताको स्थायी लेखा नम्बर (PAN) भएको हुनुपर्नेछ भने व्यावसायिक प्रयोजनका लागि भएका खरिद, सरकारी निकायबाट जारी भएका बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बापतको बिजक भने कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन्।

कसरी गर्ने सहभागिता ?

विद्युतीय भुक्तानी (इ-वालेट, मोबाइल बैंकिङ, कार्ड) मार्फत गरिएको खरिद स्वतः कार्यक्रममा समावेश हुनेछ। नगद भुक्तानीबाट खरिद गर्ने उपभोक्ताले भने बिजक जारी भएको मितिले तोकिएको अवधिभित्र आन्तरिक राजस्व विभाग (IRD) को वेब पोर्टल वा मोबाइल एप्लिकेसनमा बिजक नम्बर, बिक्रेताको PAN, बिजक जारी मिति, कूल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ।

कति र कस्तो उपहार ?

कार्यक्रमअन्तर्गत दुई प्रकारका उपहारको व्यवस्था गरिएको छ:

– दैनिक उपहार : प्रत्येक दिन एक जना विजेताले रु. १,३३,३३४ (एक लाख ३३ हजार तीन सय चौतीस) प्राप्त गर्नेछन्।
– पाक्षिक बम्पर उपहार : प्रत्येक १५ दिनमा एक जना विजेताले रु. १०,००,००० (दश लाख) प्राप्त गर्नेछन्।

आन्तरिक राजस्व विभागले स्वचालित प्रणाली मार्फत प्रत्येक महिनाको १ गते र १६ गते विजेता छनोट गर्नेछ। छनोट भएका विजेताको नाम विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने मोबाइल नम्बर र इमेलमार्फत पनि जानकारी गराइनेछ।

उपहार प्राप्त गर्ने प्रक्रिया

विजेताले उपहार घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा निम्न कागजातसहित निवेदन दिनुपर्नेछ:
– सक्कल बिजक
– राष्ट्रिय परिचयपत्र, नागरिकता प्रमाणपत्र, राहदानी वा सवारी साधन अनुमतिपत्रको प्रतिलिपि
– बैंक खाताको विवरण
– स्थायी लेखा नम्बर (PAN)

आवश्यक जाँचबुझपछि १० दिनभित्र उपहार रकम विजेताको बैंक खातामा भुक्तानी गरिनेछ। उल्लेखनीय कुरा, आयकर ऐन, २०५८ को दफा ८८क. बमोजिम उपहार रकममा २५ प्रतिशतका दरले आकस्मिक लाभ कर कट्टी गरिनेछ।

समयमै दाबी नगरे के हुन्छ ?

उपहार घोषणा भएको १५ दिनभित्र आवश्यक कागजातसहित उपहार दाबी गर्न नआउने विजेताको उपहार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिनेछ।
झुट्टा, नक्कली वा किर्ते बिजक पेश गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिनेछ।

यस कार्यक्रमले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर चुहावट नियन्त्रण गरी राजस्व संकलनमा वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।