07/16/2026, 00:26:55
बुधबार, असार ३१, २०८३
शिलान्यासको एक दशक

१० वर्षमा पनि बनेन आदिकवि आचार्यको जन्मघर

२३ वर्षदेखि भग्नावशेषमै सीमित भानुभक्तको जन्मघर, राज्यको बेवास्ताप्रति सरोकारवालाको चिन्ता, ऐतिहासिक सम्पदा संरक्षणमा चरम ढिलासुस्ती


तनहुँ, असार ३१ गते । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनर्निर्माण कार्य शिलान्यास भएको एक दशक बितिसक्दा पनि अलपत्र परेको छ ।

वि.सं. २०७३ मा ६८ लाख रुपियाँको लागतमा परम्परागत शैलीमा घर पुनर्निर्माण गर्ने गरी तामझामका साथ शिलान्यास गरिए पनि हालसम्म त्यहाँ शिलान्यासको ढुङ्गाबाहेक कुनै भौतिक प्रगति भएको छैन।

वि.सं. २०६० जेठमा आगलागीबाट नष्ट भएको तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घास्थित यो ऐतिहासिक घर २३ वर्षदेखि भग्नावशेषमै सीमित छ। भानुजयन्तीका अवसरमा जन्मस्थल पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ झाडी र डढेका काठका अवशेष मात्र देख्दा निराश भएर फर्कने गरेका छन्। यसअघि २०५७ सालमा चलचित्र ‘आदिकवि भानुभक्त’ निर्माणका क्रममा बनाइएको घर पनि तीन वर्ष नपुग्दै आगलागीको चपेटामा परेको थियो।

वैज्ञानिक उत्खननबाट फेला परेका पुरानो जग, मूलढोकाको संरचना, अगेनाको खरानी, चाँदीका बाला तथा ऐतिहासिक थुर्पी जस्ता सामग्रीहरूलाई आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालयमा सुरक्षित राखिएको छ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार पश्चिमाञ्चल विकास मञ्चले घर बनाउने आश्वासन दिएको छ। यदि मञ्चले निर्माण नगरेको खण्डमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ‘भानु साहित्य उद्यान’ अन्तर्गत विनियोजन गरेको २५ करोड रुपियाँ बजेटबाट घर र उद्यान निर्माण गरिनेछ। अर्कोतर्फ, घरको दीर्घकालीन सुरक्षाका लागि त्यहाँ नेपाली सेनाको सुरक्षा टुकडी राख्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माग समेत गरिएको छ।