

वासिङ्टन, असार ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताउनुभएको छ । साथै, हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उहाँले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ ।
ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो । त्यसका कारण त्यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिने खाडी राष्ट्रहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ थियो ।
पछि न्युजम्याक्ससँगको अन्तर्वार्तामा उहाँले हालैको अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गर्नुभयो । इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको उहाँको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पले इरानसँग रहेका १५९ वटा नौसैनिक जहाजमध्ये अधिकांश नष्ट भएको दाबी गर्दै अहिले ती समुद्रको सतहमुनि पुगेको टिप्पणी गर्नुभयो । त्यस्तै, इरानका करिब २०० वटा विमान नष्ट भएको, राडार तथा एन्टी–एयरक्राफ्ट प्रणाली ध्वस्त पारिएको र हतियार उत्पादन गर्ने क्षमता करिब ८४ प्रतिशतसम्म कमजोर बनाइएको उहाँले दाबी गर्नुभयो ।
निरन्तर सैन्य अभियानपछि इरानको आक्रामक क्षमता उल्लेखनीय रूपमा घटेको भन्दै ट्रम्पले अहिलेको इरान चार महिनाअघिको इरानभन्दा पूर्ण रूपमा फरक अवस्थामा पुगेको बताउनुभयो । उहाँका अनुसार इरानसँग अझै केही मिसाइल र सीमित सैन्य क्षमता बाँकी रहे पनि त्यसको प्रभाव पहिलेको तुलनामा निकै कम भइसकेको छ ।
इरानलाई मध्यपूर्वको अस्थिरताको प्रमुख स्रोतका रूपमा चित्रण गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले तेहरानप्रति कडा नीति अवलम्बन गरेको दोहोर्याउनुभयो । उहाँले इरानले आफूलाई दबाबमा पार्न नसकेको र आफ्नो प्रशासनले त्यसलाई स्वीकार नगरेको पनि बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























