अङ्कारा, असार २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य तनावका क्रममा नाटो सहयोगी राष्ट्रहरूको भूमिकाप्रति आफू निकै निराश भएको बताउँदै उक्त सङ्कटलाई सहयोगी राष्ट्रहरूको प्रतिबद्धता परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गरेको खुलासा गर्नुभएको छ । उहाँले इरानविरुद्धको अमेरिकी अभियानमा अपेक्षित साथ नपाएपछि गठबन्धनको विश्वसनीयतामाथि आफ्ना पुराना शङ्का थप बलियो बनेको पनि बताउनुभएको छ ।
टर्कीको राजधानी अङ्कारामा नाटो शिखर सम्मेलनअघि राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका अरूलाई सहयोग गर्न सधैँ तयार भए पनि आवश्यक पर्दा सहयोगी राष्ट्रहरू अमेरिकाको पक्षमा उभिन्छन् कि उभिँदैनन् भन्ने विषय आफूले परीक्षण गर्न खोजेको बताउनुभयो ।
“म नाटोबाट निकै निराश भएँ । हामीलाई उनीहरूको सहयोग आवश्यक थिएन, तर मैले उनीहरू वास्तवमै अमेरिकाका लागि उभिन्छन् कि उभिँदैनन् भनेर परीक्षण गरिरहेको थिएँ”, उहाँले भन्नुभयो ।
ट्रम्पले इरानविरुद्धको अमेरिकी कारबाहीका लागि केही सहयोगी राष्ट्रहरूले आफ्ना हवाई अड्डा प्रयोग गर्न नदिएको तथा रणनीतिक हर्मुज जलघाँटीको सुरक्षामा सैन्य सहयोग गर्न अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले दोस्रो विश्वयुद्धपछि अमेरिकी सुरक्षा छातामुनि रहेका साझेदार राष्ट्रहरूले आफ्नो प्रतिबद्धता व्यवहारबाट प्रमाणित गर्नुपर्ने धारणा दोहोर्याउनुभयो ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीप्रति व्यक्तिगत सम्मान रहेको उल्लेख गर्दै ट्रम्पले हर्मुज जलघाँटी र इरानसम्बन्धी अमेरिकी रणनीतिमा साथ नदिएकाले द्विपक्षीय सम्बन्धमा केही तिक्तता आएको स्वीकार गर्नुभयो । “उहाँ राम्रो व्यक्ति हुनुहुन्छ, तर यस विषयमा उहाँले गल्ती गर्नुभयो”, ट्रम्पले भन्नुभयो ।
उहाँले अमेरिकासँग प्रशस्त ऊर्जा स्रोत भएकाले हर्मुज जलघाँटीमा निर्भर हुनुनपर्ने तर विश्वव्यापी स्थायित्वका लागि अमेरिका सक्रिय भएको दाबी गर्नुभयो । युरोप भने ऊर्जा आपूर्तिका हिसाबले बढी निर्भर भएकाले केही देशको अनिच्छा स्पष्ट देखिएको उहाँको भनाइ थियो ।
ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगनको भने प्रशंसा गर्दै इरानसँग सम्बन्धित क्षेत्रीय अवस्थाबारे उहाँको बुझाइ महत्त्वपूर्ण रहेको बताउनुभयो । टर्कीले प्रत्यक्ष सैन्य संलग्नता नगरी तनाव कम गर्ने कूटनीतिक प्रयासमा रचनात्मक भूमिका खेलेको उहाँको भनाइ थियो ।
इरानविरुद्धको अमेरिकी कारबाहीलाई ट्रम्पले पूर्ण युद्ध नभई लक्षित सैन्य अभियान र आणविक निःशस्त्रीकरणका लागि गरिएको अपरेसनको संज्ञा दिनुभयो । उहाँले टर्कीसँग पर्याप्त सैन्य क्षमता भए पनि अङ्काराले जानाजानी प्रत्यक्ष युद्धमा संलग्न नहुने नीति अपनाएको उल्लेख गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































