07/06/2026, 21:02:37
सोमबार, असार २२, २०८३

उपत्यकाभित्र सबैभन्दा बढी वर्षा गोदावरीमा


काठमाडौँ, असार २२ गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकाको सबैजसो स्थानमा वर्षा भइरहेको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ भित्र पछिल्लो एक घण्टामा सबैभन्दा बढी गोदावरी क्षेत्रमा ३१.८ मिलिमिटर वर्षा भएको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको लगभग सबै ठाउँमा पानी परेको छ । सबैभन्दा बढी गोदावरीमा पछिल्लो एक घण्टामा ३१.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी, लेलेमा १३ मिलिमिटर र टीकाथलीमा १३ मिलिमिटर र अरु स्थानमा ६ देखि ७ मिलिमिटरको रेञ्जमा वर्षा भइरहेको छ ।

उहाँका अनुसार अहिले कोशी, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो एक घण्टामा कोशी प्रदेशको सोलुखुम्बु र मोरङ, लुम्बिनी प्रदेशको रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । यी क्षेत्रमा केही समयसम्म वर्षा अझै जारी रहने महाशाखाले जनाएको छ ।