06/09/2026, 18:00:41
मङ्गलबार, जेठ २६, २०८३

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र दलप्रति अध्यक्षको असन्तुष्टि


काठमाडौँ, जेठ २६ गते । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मङ्गलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। लगातारको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १:१५ बजे बस्ने तय गरिएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भूमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ। अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबिच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँले संसद्‌मा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताउनुभयो।

अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनीतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “सदनमा आउने, नाराबाजी गर्ने, आफ्ना कुरा राख्ने, सभामुख वा अध्यक्षले बैठक स्थगित भयो भन्ने अनि जाने; भोलि फेरि कुन बेला बोलाएको छ, त्यही बेला आउने। यो तरिका भएन। म सरकार पक्षका माननीय मन्त्रीज्यूको पनि ध्यानाकर्षण गराउन चाहन्छु। सरकारको पक्षबाट पनि यस विषयमा तदारुकताका साथ नेपाली जनताले अनुभूति गर्ने गरी समस्या हल गरिनुपर्छ। यो देश दलहरूको पनि हो, दलहरूले पनि यसमा अलि सचेत भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो विशेष आग्रह छ। यहाँबाट रुलिङ गर्नेभन्दा पनि यो समस्या सबैको साझा समस्या हो भन्ने कुराको अनुभूति सबैले गर्नुपर्छ। हाम्रा सभाहरू त बन्धक बने बने, सिङ्गो देश र नेपाली जनता नै बन्धक बनेजस्तो देखिने भयो, यो खालको स्थिति अन्त्य गरौँ।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधि सभामा दिनुभएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसद्को कारबाही अवरुद्ध गर्दै आएका छन्।