06/03/2026, 22:05:35
बुधबार, जेठ २०, २०८३

मलेसियाको ‘जेप हल’ मा ‘नेपथ्य’ को भव्य सांगीतिक प्रस्तुति


काठमाडौँ, जेठ २० गते। नेपाली लोक-रक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। साढे तीन दशक लामो सांगीतिक यात्रामा नेपथ्य पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो।

पर्यटकीयस्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ७ बजे नेपथ्यले ‘कोसीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो। एकपछि अर्को गीत प्रस्तुत गर्ने क्रममा नेपथ्यका गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्दै देशप्रेमका सन्देश प्रवाह गर्नुभएको थियो। गीत संकलनका क्रममा अनेक स्थान पुग्दा नेपाललाई नजिकबाट चिन्ने अवसर पाएको पनि उहाँले सुनाए। स्वदेश पुगेका बेला ती स्थान घुम्न दर्शकलाई आह्वान गननुभयो।

नेपथ्यका लागि साङ्गीतिक प्रस्तुतिका हिसाबले मलेसिया २० औँ मुलुक हो भने क्वालालम्पुर ५८ औँ विदेशी सहर। कन्सर्टमा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख (चार्ज डि अफेयर्स) मुदिता बज्राचार्य पनि उपस्थीत हुनुहुन्थ्यो।

blog

क्वालालम्पुरमा नेपथ्य अनुभव गर्न पाउँदा असाध्यै खुसी छु,’ उहाँले भन्नुभयो्, ‘कन्सर्टमा रमाउँदै गर्दा हाम्रो आफ्नै पाराका शब्द र धुनहरूको शक्तिले बारम्बार पुराना दिन सम्झायो, सँगै विविधताको आनन्द पनि महसुस गर्न पाइयो।

विदेशी भूमिमा रहेर कूटनीतिक सेवा गरिरहँदा नेपथ्यजस्तो ब्यान्डको स्तरीय प्रस्तुति र गायक अमृतले बीच–बीचमा दिने देशप्रेमका सन्देशहरूका कारण गौरव र आत्मसम्मान बढेको अनुभव भएको पनि उहाँले सुनाउनुभयो।

कन्सर्ट आयोजनास्थल ‘जेप क्वालालम्पुर’ अन्तर्राष्ट्रिय स्तरको रङ्गमञ्च तयार पार्ने जापानस्थित ‘जेप समूह’ कै विस्तार थियो। त्यसका निर्देशक सिनिचिरो होन्डाका निम्ति पनि यो पहिलो नेपाली कार्यक्रमको अनुभव बन्न पुग्यो।

यस ब्यान्डले नेपाली मौलिकतालाई समातेर वैश्विक स्वादमा गीत पस्कँदो रहेछ,’ कन्सर्ट हेरिसकेपछि होन्डाले भने, ‘सङ्गीतदेखि लिएर व्यवस्थापनसम्म सिङ्गो प्रस्तुति स्तरीय महसुस गरेँ।

मलेसियाको फरक दर्शक घेरालाई नेपथ्यसँग नजिक्याउन जिम्मेवारी सम्हालेका स्थानीय आयोजकले पनि कार्यक्रमबाट सन्तुष्टि मिलेको प्रतिक्रिया दिए। मञ्चमा अमृतलाई ड्रमसेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थियो।