

राँझा (बाँके), जेठ १८ गते । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ ।
विद्यार्थी संख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका-२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँसपुर गरी हालसम्म तीन विद्यालयलाई समायोजन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार, शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन गरेर त्यहाँ गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ । भानुदय र शिव प्राविलाई शुक्र माविमा समायोजन गरिएको छ ।
विद्यालय अन्यत्रै समायोजन भएपछि भानुदय प्राविको भवन खाली रहेको छ । शिव प्रावि नयाँ गुराँसपुर पनि शुक्र माविमा समायोजन गरिए पछि दुई तले भवन प्रयोगविहीन भएको छ । एउटा कोठामा बाल विकास सञ्चालन भए पनि अधिकांश भवन प्रयोगविहीन रहेको शिक्षा शाखा प्रमुख मल्लले बताए।
खजुरा गाउँपालिकाले विसं २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको हो । विद्यालय समायोजनपछि प्रयोगविहीन विद्यालय भवन र अन्य संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























