

ड्यालस (अमेरिका), जेठ १८ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले नेपाल निर्माणको वैचारिक अभियानमा डायस्पोरामा रहेका नेपालीहरूको योगदान महत्त्वपूर्ण रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।
हिमालय खबर ड्यालस र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसको संयुक्त आयोजनामा अमेरिकाको ड्यालसमा सम्पन्न ‘नेपाल चर्चा, कविता र पुस्तक समीक्षा’ कार्यक्रममा बोल्दै पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
पूर्व अध्यक्ष पोखरेलले सरकारले डायस्पोरामा रहेका नेपालीहरूको क्षमता, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई देश निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने सुझाव दिनुभयो । नेपाललाई समेटेर अघि बढ्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको उहाँको भनाइ थियो ।


विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै पोखरेलले भन्नुभयो, “विगतमा प्रधानमन्त्री स्वयंले संसद् विघटन गरेर अस्थिरता निम्त्याउने प्रयास गरेको इतिहास छ, र अहिलेका प्रधानमन्त्रीले पनि त्यही प्रवृत्ति दोहोरिन सक्ने खतरा उत्तिकै छ ।”
लोकतन्त्रमाथि विश्वव्यापी रूपमा चुनौतीहरू थपिँदै गएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा डायस्पोराका नेपालीहरूले पनि आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति र अन्तर्क्रिया
कार्यक्रममा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक सन्दर्भमा केन्द्रित रही वरिष्ठ पत्रकारद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच प्यानल छलफल (प्यानल डिस्कसन) समेत सञ्चालन गरिएको थियो । छलफलमा नेपालको समसामयिक अवस्था र भविष्यको दिशाबारे गम्भीर विचार–विमर्श गरिएको थियो ।
यसैगरी, कार्यक्रममा साहित्यकार नारायण श्रेष्ठले एकल कविता वाचन गर्नुभएको थियो भने लेखक केशव दाहालको नवीनतम पुस्तक ‘अज्ञात’ माथि समीक्षात्मक टिप्पणी तथा चर्चा गरिएको थियो । डायस्पोरामा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम वैचारिक र साहित्यिक दुवै दृष्टिकोणले भव्य रूपमा सम्पन्न भएको आयोजक संस्था हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले जनाएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























