05/27/2026, 18:48:55
बुधबार, जेठ १३, २०८३

घोराहीमा मह महोत्सव सुरु


घोराही, जेठ १३ गते । महको प्रचारप्रसार तथा बजारीकरण प्रवर्धन गर्ने उद्देश्यले दाङको घोराहीमा तीन दिने मह महोत्सव–२०८३ सुरु भएको छ ।

नेपाल मौरी पालक महासङ्घ दाङको आयोजना तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको सभा हलमा महोत्सव सुरु भएको हो ।

मह महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थीले देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मौरीपालन पनि कृषि क्षेत्रकै एउटा पाटो भएको भन्दै मन्त्री पन्थीले परम्परागत रूपमा मात्र मौरीपालन गरेर नपुग्ने भन्दै व्यवसायिक रूपमा घारदेखि उत्पादनसम्म सुधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मौरीपालनबाट उत्पादन बढाउनका लागि परम्परागत घारदेखि गुणस्तर सुधार गर्न आवश्यक रहेको भन्दै मन्त्री पन्थीले भन्नुभयो, ‘‘गुणस्तरीय मह उत्पादन गरी स्वदेशसँगै विदेशमा निर्यात गर्ने गरी किसानले व्यवसाय विस्तार गर्नुपर्छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारले किसानलाई अभिभावकत्व प्रदान गर्दै सहयोग गर्न तयार छ ।’’

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले मह उत्पादनमा दाङ चितवनपछिको दोस्रो जिल्ला भए पनि बजारीकरणमा भने पछि परेको बताउनुभयो । त्यसका लागि गुणस्तरीय मह उत्पादन गर्दै प्रशोधन गरेर राष्ट्रिय तथा अन्तर्राट्रिय क्षेत्रमा निर्यात गर्न आवश्यक रहेको भन्दै किसान त्यही अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मौरीपालनमा संलग्न किसानको सङ्ख्या बढ्दै गए पनि मह उत्पादनमा आएको कमी चिन्ताको विषय बनेको बताउँदै बाह्रै महिना उत्पादन कायम राख्न मौरीको चरण क्षेत्र विकास गर्नुपर्ने र जङ्गल क्षेत्रमा चिउरीलगायतका विरुवा रोपण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङका प्रमुख कोमल शाहीका अनुसार दाङमा हाल चार सय भन्दा बढी किसान व्यावसायिक मौरीपालनमा संलग्न रहेका छन् । जिल्लामा वार्षिक तीन सय पन्ध्र टन भन्दा बढी मह उत्पादन भई दस करोड रुपियाँ बराबरको कारोबार हुने गरेको छ ।

नेपाल मौरी पालक महासङ्घ दाङका अध्यक्ष दिनेश वलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न वक्ताहरूले मौरीपालन व्यवसायको सम्भावना र चुनौतीबारे विचार व्यक्त गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको हलमा सुरु भएको महोत्सवको उदघाटनपूर्व घोराही बजारमा र्‍याली समेत निकालिएको थियो ।

तीन दिनसम्म चल्ने महोत्सवमा किसानले विभिन्न सिजनका उत्पादन गरेको महसँगै मौरीपालन सम्बन्धि सामग्री प्रदर्शनी र व्यवसायका चुनौती तथा सम्भावनाबारे छलफल हुने आयोजकले जनाएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..