05/10/2026, 19:48:08
आइतबार, बैशाख २७, २०८३

मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघ-गर्जनसहित वर्षा हुने पूर्वानुमान


काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघ-गर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ । आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ-गर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी, भोलि सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ-गर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पर्सी मङ्गलबार कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ-गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।