05/09/2026, 13:33:06
शनिबार, बैशाख २६, २०८३

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी-इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील


दुबई, वैशाख २६ गते । संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल ट्याङ्करलाई निशाना बनाई ‘निष्क्रिय’ पारेको जनाएको छ । यस घटनापछि मध्यपूर्वमा तनाव झनै बढेको छ । अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली हानाहानपछि उक्त ट्याङ्करलाई नियन्त्रण बाहिर जान नदिन कारबाही गरिएको हो ।

अमेरिकी सैन्य कारबाहीले ती जहाजलाई सञ्चालनयोग्य नहुने अवस्थामा पुर्याएको बताइएको छ । यसैबिच, संयुक्त अरब इमिरेट्सले पनि आफ्नो क्षेत्रमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको जानकारी दिएको छ । प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा केही व्यक्ति घाइते भएका छन् ।

अमेरिकी रक्षा निकायले भने होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि सम्भावित आक्रमण प्रयास रोकिएको र त्यसको जवाफ स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरिएको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नागरिक वा जहाजलाई धम्की दिए कडा जवाफ दिइने चेतावनी दिनुभयो । उहाँले वार्ताका लागि इरानबाट ‘गम्भीर प्रस्ताव’ अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

यसैबिच, इरानले अमेरिकी कारबाहीलाई युद्धविराम उल्लङ्घन भएको भन्दै कडा विरोध जनाएको छ । इरानी विदेश मन्त्रालयले अमेरिकाले कूटनीतिक समाधानको सट्टा सैन्य विकल्प रोजेको आरोप लगाएको छ ।

होर्मुज जलसन्धि विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ । यस क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पार्दै आएको छ, जसका कारण तेल मूल्यमा वृद्धि र विश्व बजारमा अनिश्चितता देखिएको छ । हाल दुवै पक्षबिच तनावपूर्ण अवस्था कायम रहेको छ र युद्धविरामलाई कायम राख्ने प्रयास भइरहेका भए पनि स्थिति संवेदनशील रहेको बताइएको छ ।