05/05/2026, 19:03:20
मङ्गलबार, बैशाख २२, २०८३

प्रमुख प्रशासीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ, वैशाख २२ गते । रूकुम (पूर्वी भाग), पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहित सात जनाविरुद्ध ११ लाख ६९ हजार ७६० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीसहित वडा नं. १२ का तत्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, तत्कालीन इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, तत्कालीन योजना शाखा प्रमुख (कम्प्युटर अपरेटर) चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक (नायब प्राविधिक सहायक) ओम प्रकाश ओली, तत्कालीन सह–लेखापाल नवराज खड्का, पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. र सोका अध्यक्ष सुजन पुनविरुद्ध मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरूको मिलेमतोमा आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सङ्घीय सःशर्त अनुदानबाट बजेट सुनिश्चित भएको कागती पकेट विकास कार्यक्रम वडा नं. १२ स्थित छमारीमा सञ्चालन गर्न मिति २०७७ चैत २५ मा सम्झौता गरी कार्य गर्दा फिल्डमा नभएको नगरेको काम नापी किताबमा देखाइ वास्तविक रूपमा हुँदै नभएको काम भएको भनी बढी मूल्याङ्कन गरी सो रकम भुक्तानी लिई दिई सरकारी सम्पत्ति हिनामिना, हानि नोक्सानी एवम् दुरुपयोग गरे गराएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ११ लाख ६९ हजार ७६० रुपियाँ बिगो रकम कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।