04/28/2026, 16:57:30
मङ्गलबार, बैशाख १५, २०८३

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा


चौतारा (सिन्धुपाल्चोक), १५ वैशाख । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ । पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उनको पेसा सङ्कटमा परेको हो ।

भिमटारकै पदमबहादुर माझीले आठ वर्षको उमेरदेखि माछा मार्दै आएका हुन् । त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सिएको छैन । तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उनको अनुभव छ ।

इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहेका नवराज माझीले माछा पाइन छाडेपनि नदी धाउन छाडेको छैन । तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ ।

दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो । अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ । वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ ।

माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन् । चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउँछन् ।

यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । सङ्घीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..