04/23/2026, 16:46:39
बिहिबार, बैशाख १०, २०८३

पुर्नस्थापनाको माग राख्दै आरक्ष विस्थापितद्वारा दिनदिनै प्रदर्शन र धर्ना


कञ्चनपुर, वैशाख १० गते । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापितले एक सातादेखि र्‍याली र धर्ना गरिरहेका छन् । चर्को गर्मीको बेवास्ता गर्दै उनीहरुले प्रदर्शन गरिरहेका छन् । डिभिजन वन कार्यालय अगाडिको खाली जमिनमा छाप्रा बनाएर बसोबास गरिरहेका विस्थापितले पुर्नस्थापनाको माग गर्दै महेन्द्रनगर बजार र जिल्ला प्रशासन सामुन्ने दिनदिनैं प्रदर्शन र धर्ना दिइरहेका छन् । उनीहरुले बुधबार बजारमा र्‍यालीसहित जिल्ला प्रशासन अगाडी अर्ध नग्न प्रदर्शन गरेका थिए ।

नयाँ सरकार गठन भएसंगै विस्थापितहरु दवाव मुलक प्रदर्शनमा उत्रिएका हुन् । ‘हाम्रो आन्दोलन वर्षौदेखि जारी छ, अहिले पनि त्यसकै निरन्तरता हो,’ आरक्ष बिस्तारका क्रममा विस्थापित कृष्णप्रसाद भट्टले भने, ‘हाम्रो सम्पत्ति खोसिएको हो, अहिलेसम्म सरकारले हेरेको छैन, हामीमाथि अन्याय भएको छ ।’  पुर्नस्थापनको माग गर्दा गर्दै तेस्रो पुस्ता समेत आन्दोलनमै उत्रिनुपरेको उनले बताए ।

संकटकालका बेला काँधमा बन्द्क तेर्स्याएर विस्थापित गरिएको जनाउँदैं निरन्तर दबाबका कार्यक्रम गरिरहेको पीडितले बताए । ‘आन्दोलन, दमन, बसोबासका पीडक कति सहने,’  अर्की विस्थापित निर्मला भट्टले भने, सबै भोगिसक्यौं, अब माग पूरा नहुँदासम्म निरन्तर रुपमा दवाव दिइरहने हो ।

जिल्ला प्रशासनले विस्थापिरुका समस्या सरकारसम्म पुर्‍याइदिन प्रशासन अगाडि नियमित रुपमा धर्ना बस्नुपरेको उनीहरु बताउँछन् । ‘वैशाखको टण्टलापुर घाममा बस्न कसलाई रहर थियो र ?’  अर्का विस्थापित जीतसिंह ऐरले भने, ‘यो भन्दा बढी पीडा त हामीले वर्षौदेखि भोगिरहेका छौं ।’ उनले कहिले जंगल त कहिले कतै गरेर दिन काटनु परेको बताए ।

२०३३ मा तत्कालीन शाही शिकार आरक्षलाई शुक्लाफांटा वन्यजन्तु आरक्ष घोषणा गरेपछि पुर्वी क्षेत्र विस्तार गरिएको हो । २०५८ सम्म निकुञ्जको विस्तारित क्षेत्रबाट वस्ती खाली गरिएको हो । २०३३ देखि सुरु भएको विस्थापितको समस्या अझै समाधान हुन सकेको छैन । १५० वर्गकिलोमिटर क्षेत्रफल रहेको आरक्षको पुर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर बनाइएको हो ।

२०७३ मा शुक्लाफाँटालाई आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरिएको हो । विभिन्न समयमा विस्थापित भएका मध्ये अधिकांस पुर्नस्थापना हुन नसकेर निकुञ्जकै कोर एरिया र अन्य जंगलको क्षेत्रमा बसोबास गर्दै आएको छ ।

निकुञ्जको कोर एरियामा रहेको ढक्का शिविरमा मात्रै ६ सय २ परिवार विस्थापितहरु घर टहरा बनाएर बसोबास गरिरहेका छन् । यसैगरि निकुञ्जको तारापुर क्षेत्रमा १ सय ८० र लल्लरे डाँडामा १३ परिवारको बसोबास रहेको छ ।

यसबाहेक विभिन्न १४ वटा शिविरमा गरेर २ हजार ४ सय ७३ परिवारको बसोबास रहेको विस्थापितहरु बताउछन् । विस्थापितको जम्मा संख्या कति छ भन्ने विषयमा पनि विभिन्न आयोगका फरक फरक तथ्यांक आएका छन् । कतिपले २ हजार ४ सय ७३ परिवारलाई नै विस्थापित भनेका छन् भने कतिपयले वास्तविक विस्थापितको संख्या कम रहेको प्रतिवेदन सरकारलाई बुझाएका छन् ।

विस्थापितहरुको पुर्नस्थापनाका लागि २०३७ देखि नै विभिन्न आयोग तथा कार्यदल बन्न थालेका हुन् । हालसम्म ३२ वटा आयोग गठन भइसकेका छन् । ३ महिनादेखि एक वर्षसम्म समयावधी दिएर गठन हुने आयोग तथा समितिहरुले विस्थापितको एकिन संख्या अझै पहिचान गर्न सकेका छैनन् ।

पछिल्लो पटक पुनरावेदन अदालतका पूर्व न्यायाधीश जयानन्द पनेरुको संयोजकत्वमा गठित ३२ औं आयोगले २ हजार २७ देखाएको छ । त्यसअघि २०७१ मा पुनरावेदन अदालतकै पूर्व न्यायाधीश ठाकुर प्रसाद शर्माको आयोगले विस्थापितको संख्या १४ सय ८० रहेको र उनीहरुलाई नै पुर्नस्थापना गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । त्यसअघिका आयोगले विस्थापितको संख्या २४ सय ७३ कायम गरेका छन् । शर्मा नेतृत्वको आयोग २९ औं हो ।

त्यसपछिका दुई आयोगले शर्माले निर्धारण गरेको संख्यालाई आधार मानेका छन् । सुरेन्द्र बमको संयोजकत्वमा गठित तिसौं आयोगले शर्माकै आयोगले एकिन गरेका विस्थापितलाई प्रति परिवार १० कट्ठा जमिन वा ६० लाख रुपैंया दिनुपर्ने सिफारिस गरेको थियो । पनेरु नेतृत्वको ३२ औं आयोगले २०८१ पुस २६ मा प्रतिवेदन बुझाएको थियो ।

उक्त आयोगले निकुञ्ज तथा वन क्षेत्रमा बसोबास गरिरहेकालाई प्रति परिवार राहात स्वरुप १० लाख दिने र तत्काल वन क्षेत्रबाट हटाउनुपर्ने, वन क्षेत्र बाहिर रहेका परिवारलाई ७ लाख र लालपुर्जा पाएका तर जमिनको उपभोग गर्न नपाएका परिवारलाई ५ लाख दिन सुझाव दिएको छ ।

हालसम्म गठन भएका विभिन्न आयोग तथा कार्यदलले ५२ सय परिवारलाई जिल्लाका विभिन्न स्थानमा ४ हजार ४२ विघा भन्दा बढी जमिन वितरण गरेको छ । उनीहरुलाई भीमदत्त नगरपालिका १९ को बाग्फाँटा, १३ को पिपरैया, बेलडाडीको ढाक्का, रामपुर विलासीपुरको लक्ष्मीपुर, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा र बेदकोटको सुन्दरपुरमा जमिन दिएर पुर्नस्थापना गरिएको छ ।

– भवानी भट्ट