04/23/2026, 12:58:24
बिहिबार, बैशाख १०, २०८३

सवारी साधनलाई साङ्लो लगाएर बाँधिए पछि…


कपिलवस्तु, वैशाख १० गते । कपिलवस्तु ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गर्ने सवारीसाधनमाथि नयाँ शैलीमा कारबाही थालेको छ । सडक किनार र बजारको व्यस्त क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनलाई अब साङ्लोले बाँधेर नियन्त्रणमा लिन थालिएको हो । ट्राफिक प्रहरीसँग ठुलो ह्वील लक नभए पछि साङ्लो लगाएर नियन्त्रण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

शिवराज नगरपालिकाको व्यापारिक केन्द्र चन्द्रौटा बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण दैनिक जाम, दुर्घटनाको जोखिम तथा पैदल यात्रुलाई सास्ती हुने समस्या बढेपछि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको जनाएको छ । जिल्लाका मुख्य बजार क्षेत्रमा समेत नियम तोड्ने सवासी साधनमाथि कडा निगरानी सुरु गरिएको बताइएको छ ।

कार्यालय प्रमुख ढकालका अनुसार ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बजार क्षेत्रमा विशेष निगरानी थालेको छ । “ह्विल लक सीमित संख्या र सानो भएकाले विकल्पका रूपमा साङ्लो प्रयोग गरी सवारी नियन्त्रणमा लिएका छौँ,” उहाँले बताउनुभयो । बजार क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि यात्रुवाहक सवारीसाधन तथा तीन पाङ्ग्रे अटोका लागि छुट्टै पार्किङस्थल तोकिए पनि धेरै चालकले नियम उल्लङ्घन गर्दै सडकमै सवारी राख्ने गरेका छन्। त्यसै कारण कारबाहीको दायरा बढाइएको ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रहरी नायब निरीक्षक दीपकराज गिरीको भनाई रहेको छ ।

स्थानीय व्यवसायी तथा सर्वसाधारणले बजार क्षेत्रमा सुरु गरिएको अभियानको स्वागत गरेका छन्। उनीहरूका अनुसार सडक खुला हुँदा आवतजावत सहज हुने, बजार आकर्षक देखिने र दुर्घटनाको जोखिम समेत कम हुने अपेक्षा गरिएको छ । प्रहरीले बजार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अनुशासित बनाउन सबै सवारी चालकलाई तोकिएको पार्किङस्थल प्रयोग गर्न आग्रह गरेको छ ।

– जानु पाण्डे