04/09/2026, 22:19:33
बिहिबार, चैत २६, २०८२

कृषि अध्ययन गरेर स्ट्रबेरी खेतीमा रमाउँदै युवा


धनगढी, चैत २६ गते । प्लाष्टिकले मल्चिङ गरिएको चिटिक्क परेका डिलहरु छन् । त्यसमाथि रोपिएका बोटमा लटरम्म फलेका फलहरु पाकेर मुखै रसाउने भइसकेका छन् ।

जहाँ, २४ वर्षीय रोशन साउँद र उहाँका सहयोगीलाई फल टिप्न विहानैदेखि भ्याइ नभ्याइ छ । आसपास पुगेका जोकोहीको मनै लोभ्याउने यो दृश्य हो, स्ट्रबेरी खेतीबारीको । कैलालीको धनगढी उपमहानगरपालिका –९ बङ्गरा कटानमा रहेको यो बारीमा रोशनका सुन्दर सपनाहरु फलिरहेका छन् ।

कृषि प्राविधिक उहाँ विगत तीन वर्षदेखि यहाँ मल्चिङ प्रविधि र थोपा सिँचाइ प्रविधि प्रयोग गरेर स्ट्रबेरी खेती गरिरहनु भएको छ । “मैले अछामको कालिका माध्यमिक विद्यालयबाट १८ महिने कृषि अध्ययन पूरा गरेर आफै कृषिमा अग्रसर भएँ” उहाँ भन्नुहुन्छ, “सुरुमा दुई कट्ठा जमिनमा स्ट्रबेरीको खेती गरें । अहिले १७ कट्ठा जमिनमा विस्तार गरेको छु ।

साउँदले वार्षिक प्रतिकट्ठा पाँच हजार रुपियाँ भाडा तिर्नेगरी लिजमा जग्गा लिनु भएको छ । त्यो जग्गामा सुरुमा फूल, मेवा खेती गर्नुभएको थियो । तर, त्यसमा चुनौती बढेपछि इजिप्टबाट स्ट्रबेरीको विरुवा मगाएर त्यसको खेती गरिरहनु भएको छ ।

बारीबाट दैनिक ३० देखि ४० केजी स्ट्रबेरी बजारमा गइरहेको छ । स्थानीय व्यापारीले अर्डर गरेपछि टिपेर बजारमा पु¥याउने गरिएको छ । यसैगरी, उत्पादित स्ट्रबेरी कोहलपुर, नेपालगञ्ज, बुटवलसम्म पनि पुगिरहेको साउँदले जानकारी दिनुभयो ।

कृषिसम्बन्धी प्राविधिक शिक्षा र्जनपछि सरकारी जागीर खाने अवसर रहे पनि कृषिमै रमाउन चाहनू भएका उहाँ आफू यो खेतीमा सन्तुष्ट रहेको बताउनुहुन्छ । “मलाई अरुको मातहतमा बस्नुभन्दा पनि आफै मालिक आफै कामदार भएर काम गर्न मन पर्र्छ” साउँदले थप्नुभयो, “त्यसकारण मैले जागीर नखोजी कृषि रोजें । मलाई विदेश पनि जान परेको छैन ।

साउँदले बारीबाट प्रतिकेजी सातसय रुपियाँमा स्ट्रबेरी बिक्री गरिरहनु भएको छ । फागुनदेखि सुरु भएको सिजन अब सकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । तीन महिनासम्म स्ट्रबेरी उत्पादन हुने गरेको जनाइएको छ ।

दुई वर्षदेखि आफैँ विरुवा बनाएर स्ट्रबेरीसँग रमाइ रहनु भएका साउँदले मल्चिङ र थोपा सिँचाइ प्रविधिबाट काम गर्दा धेरै कामदारले गर्नुपर्ने काम एक्लैले गर्न सकिने गरेको बताउनुभयो ।

स्ट्रबेरीले २०–२५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम झेल्न सक्दैन” उहाँले थप्नुभयो, “तराईभन्दा पनि पहाडमा यसको खेती अझ राम्रो हुन सक्छ । तर, त्यता बजारको समस्या भएकाले मैले तराईमा खेती गरें । मल्चिङ र थोपा सिँचाइ प्रविधिबाट खेती गर्दा सजिलो छ ।

– अविनाश चौधरी