काठमाडौँ, चैत २७ गते । विनोद भण्डारीको सानदार शतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौँ जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ ।
जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि सात विकेटको जित निकाल्दा कप्तान विनोदले शतक पूरा गर्नुभयो । प्रतियोगितामा एकमात्र अपराजित टोली आर्मीको यो सातौँ खेलमा छैटौँ जित हो । रामजानकी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १५१ रनको झिनो लक्ष्य आर्मीले २०.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । ओपनर विनोदले ७५ बलमा १२ चौका र पाँच छक्का प्रहार गर्दै १०० रन जोडेर जितको आधार तय गर्नुभयो । अर्का ब्याटर भीम सार्कीले १६ र कुशल मल्लले अविजित २६ रनको योगदान दिनुभयो । सुदूरपश्चिमका शेर मल्लले दुई र मिलन बोहोराले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनमै समेटिएको थियो । आर्मीका अलराउन्डर बसिर अहमदले ९.१ ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिँदै सुदूरपश्चिमको इनिङ ध्वस्त बनाउनुभयो । सुदूरपश्चिमका लागि नारायण जोशीले ६३, अभिषेक पालले २४ र खडक बोहोराले १३ रन जोड्नुभयो । आर्मीका नरेन साउद र साहब आलमले समान दुई-दुई विकेट लिनुभयो ।
शीर्ष दुई नजिक पुलिस
दिनेश खरेलको उत्कृष्ट लय र ललित राजवंशीको पाँच विकेटको मद्दतले नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ४८ रनको जित दर्ता गरेको छ । यो जितसँगै पुलिस पनि शीर्ष दुईको होडमा फर्किएको छ ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले ४६ र सुनिल धमलाले ३४ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन् । पुलिसका ललित राजवंशीले पाँच र करण केसीले तीन विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६१ रन बनाएको थियो । पुलिसका ओपनर दिनेश खरेलले ८२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । यस्तै अमित श्रेष्ठले ३० र आरिफ शेखले २७ रन जोड्नुभयो । कर्णालीका प्रकाश जैसीले तीन विकेट लिनुभयो । यो जितसँगै पुलिस सात खेलबाट नौ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
