04/06/2026, 15:33:29
सोमबार, चैत २३, २०८२

सुदूरपश्चिम प्रदेश सभामा सदस्यको पद रिक्त


धनगढी, चैत २३ गते । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा सदस्यको पद रिक्त भएको छ । तत्कालीन प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले प्रतिनिधि सभा सदस्यको चुनाव लड्नका लागि प्रदेश सभा सदस्यबाट स्वैच्छिक राजीनामा दिएपछि एउटा पद रिक्त भएको हो ।

२०७९ को निर्वाचनमा जोशी डडेलधुराको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र रूपमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपालको संविधानको धारा १८० (क) र सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९४ (१) बमोजिम प्रदेश सभा सदस्य पदबाट स्वैच्छिक रूपमा राजीनामा दिएको पत्र सभामुखसमक्ष पेस गर्नुभएको थियो । उक्त स्थान सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १९५ को उपनियम (२) बमोजिम रिक्त रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

जोशी डडेलधुराबाटै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रदेश सभाको एक पद रिक्त रहेको निर्वाचन आयोगलाई जानकारी गराइसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यसैबिच अर्का प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पनि सम्पर्कमा नरहेको सचिवालयले जानकारी दिएको छ । जेन-जी आन्दोलनपछि उहाँ अमेरिका गएको बताइएको छ । यद्यपि उहाँले आफू कहाँ गएको भन्ने विषयमा औपचारिक रूपमा जानकारी नगराएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार देउवा केही बैठकमा अनुपस्थित भइसक्नुभएको छ । कुनै जानकारी नगराई लगातार १० बैठकमा अनुपस्थित भएमा संविधानको धारा १८० को (घ) बमोजिम प्रदेश सभा सदस्य पद रिक्त हुने कानुनी व्यवस्था रहेको छ तर जानकारी गराएमा पद कायम रहिरहने सभामुख भण्डारीले बताउनुभयो ।