04/05/2026, 22:01:16
आइतबार, चैत २२, २०८२

घरेलु हिंसाका पीडित महिलालाई प्रहरीले किन गराउँछ ‘मेलमिलाप’


घोडाघोडी (कैलाली), चैत १८ गते । कैलारी (नाम परिवर्तन) को दाहिने हात र खुट्टाले राम्रोसँग काम गर्दैन । जुन दिनदेखि हात खुट्टाले काम गर्न छोड्यो, त्यो सम्झेर अहिले उहाँ झस्किनु हुन्छ । पाँच वर्षअघि घोडाघोडी नगरपालिका –१ स्थित आफ्नो घरमा उहाँ सुतिरहनुभएको थियो । ज्वरोले थला परेकी कैलारीले उठेर खाना पकाउन सक्नु भएन । उहाँका श्रीमानलाई त्यही कुरा उहाँमाथि जाइलाग्ने निहुँ बन्यो ।

त्यो दिन उठेर खाना पकाइन भन्ने निहुँ झिके । मेरो कपालमा समातेर न्याके”  उहाँले भन्नुभयो, “घाटीँ नै भाँचिएजस्तो भएको थियो ।” घटनापछि उहाँलाई माइती पक्षका आफन्तले अस्पतालमा उपचार गराएका थिए ।

मलाई नेपालगञ्ज लगेर उपचार गरेपछि थाहा भयो घाँटीको नसा नै टुटेछ । त्यसकै असरले दाइने हात र खुट्टामा असर पुग्यो, राम्रोसँग काम गर्दैन” उहाँले भन्नुभयो, “घाँटीमा पनि रड राखिएको छ ।” उहाँले यसरी हिंसा सहँदै आएको १२ बर्ष भयो । असह्य भएपछि उहाँ धेरै पटक प्रहरी चौकी जानुभयो तर प्रहरीले मौखिकरूपमा सम्झाइ मिलापत्र गरेर पठायो । प्रहरीले सम्झाएको केही दिन त उहाँको श्रीमान चुपचाप भए तर पछि फेरि हिंसामै उत्रिएको उहाँको गुनासो छ ।

पाँच वर्षअघि अङ्गभङ्ग हुँदा पनि उहाँ प्रहरीकहाँ पुग्नुभएको थियो । त्यो बेला प्रहरीले मिलापत्रको कागजमा आइन्दा झगडा नगर्ने करारनामा गराएर घर पठायो । तर उहाँमाथि हिंसा रोकिएन । हिँसाबाट आजित भएकी उहाँले श्रीमानलाई अर्को विहे गर्न सुझाउनुभयो । उहाँको बिहे पनि भयो । तर हिंसा रोकिएन । उहाँ प्रहरीकोमा जानै छोड्नुभयो ।

श्रीमान–श्रीमती जोडिएको घटनालाई प्रहरीले मिलापत्र गराउन सकिने मुद्दाकारूमा मात्र लिँदा महिलाले कसरी दुःख पाइरहेका छन् भन्ने यो बलियो उदाहरण हो । हुन त घरेलु हिंसामा फौजदारी अनुसन्धान गर्ने क्षेत्राधिकार प्रहरीलाई छैन । मिलापत्र गराउने नसके उचित संरक्षण दिएर महिलालाई कानुनी कारबाहीका लागि अदालत जाने बाटो देखाउनु पर्ने हो । तर प्रहरीले मिलापत्रमा जोड दिने गर्छ ।

प्रहरीले उहाँहरुलाई सुरक्षित वातावरण दिलाएर उक्त घरेलु हिंसा तथा कसुर ऐनको दफा ९ मा भनेअनुसार मनोपरामर्श र कानुनी परामर्श समेत दिएन । मनोपरामर्श र कानुनी परामर्शका त कुरै भएन, प्रहरीले हिंसाबारे पनि राम्ररी सोधपुछ नगरेको पीडितको गुनासो छ ।

प्रहरीकहाँ कुटपीट गरेको भन्दै गएपछि धेरै सोधपुछ भएन । त्यस्तो (मनोपरामर्श) कुरा पनि भएन । ममाथि जे जस्तो जबरजस्ती श्रीमान्ले गथ्र्यो त्यो कुरा पनि मैले भन्न पाइनँ”  उहाँले भन्नुभयो, “आफ्नै श्रीमानले जबरजस्ती गर्न पनि नपाइने रहेछ । यत्रो वर्षसम्म प्रहरीकहाँ जाँदा पनि थाहा भएन । बल्ल अचेल थाहा भयो ।

तीन वर्षमा कैलाली प्रहरीको तथ्यांक हेर्दा प्रहरीले घरेलु हिंसा सम्बन्धी उजुरी ६७० वटा परेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक बर्ष २०८०–८१ मा घरेलु हिंसासम्वन्धि १५७ उजुरी परेका थिए । त्यसैगरी आर्थिक बर्ष २०८१–८२ मा बढेर २१३ उजुरी संख्या पुगेको थियो । चालु आर्थिक वर्षमा अहिलेसम्म ३०० उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सेनाले चालु आर्थिक बर्षमा २६९ वटा उजुरी मिलापत्र गरिएको बताउनुभयो । त्यस्तै, २७ वटा न्यायिक निकायमा पठाएको र चारवटा उजुरी कारबाहीको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षमा पुरुषहरु पीडित भएको १८ वटा उजुरी परेको र तिनलाई पनि मिलापत्र गरिएको जानकारी दिनुभयो ।

महिला हिंसा सम्बन्धी (कसुर, सजाय) ऐन, २०६६ को दफा ४ को उपदफा ८ अनुसार प्रहरीले मिलापत्र गराउने गरेको दाबी गर्दैआएको छ । उक्त उपदफामा भनिएको छ– “पीडितले चाहेमा प्रहरी कार्यालय र स्थानीय तहले उजुरी परेको मितिले ३० दिनभित्र दुवै पक्षबिच मेलमिलाप गराउन सक्ने व्यवस्था गरेको छ । मिलापत्र गराउने प्रक्रिया सुरू गर्दा यो कानुनमा रहेको ‘पीडितले चाहेमा’ भन्ने वाक्यांश प्रहरीले ख्याल गरेको देखिन्न ।

मलाई त मिलापत्र गर्ने मनै थिएन । प्रहरीले मिलाएर पठाएको हो”  कैलारीले भन्नुभयो, “मलाई के चाहन्छौ भनेर पनि सोधिएन ।”  घोडाघोडी १ कै पार्वती बोहरा दुई वर्षअघि श्रीमान र सौताबाट धेरै पटक हिंसा भोगेपछि प्रहरी कार्यालयमा न्याय माग्दै जानुभयो । तीनैजनालाई राखेर प्रहरीले मिलापत्र गराइदियो । तर उहाँमाथिको हिंसा केही समयलाई रोकिए पनि पछि झन उग्र बन्यो । आफूलाई लगाएको गहनासमेत थुतेर घर निकाला गरेको उहाँले गुनासो गर्नुभयो ।

खान बस्नको समस्या भएपछि उहाँ समाजका केही महिलाहरुको सहयोगमा प्रहरी चौकी पुग्नुभयो । “धेरै पटक न्यायका लागि प्रहरी चौकी धाएँ । मिलापत्र मात्रै गरिदियो.अहिलेसम्म मलाई नागरिकता पनि बनाइदिएका छैनन् । मलाई एक्लै घरमा छाडेर भारत गए । मलाई खर्चपानी पनि छैन । न मेरो नाममा सम्पत्ति छ । म घर न घाटको भाको छु” उहाँले दुख पोख्नुभयो ।

घोडाघोडी नगरपालिका –१ कैलालीका मनिषा सिंह श्रीमानको हिंसा सहन नसकेर अहिले आफन्तको शरणमा बस्नुभएको छ । दुई सन्तानकी आमा मनिषाले श्रीमानको हिंसा सहन नसकेर प्रहरी कार्यालयमा उजुरी दिनुभयो । तर सुनुवाइ भएन । “सहनसम्म सहेर बसेकी थिएँ । पछिल्लो पटक राति अश्लिल गालीसँगै लात्तैलात्तले हानेर लगाएको कपडा च्यातेर घरबाट निकाले” उहाँले सुनाउनुभयो, “त्यसपछि प्रहरीकहाँ गएकी थिएँ ।

मनिषाले ईलाका प्रहरी कार्यालय सुखडमा कुटपिट गर्ने श्रीमानलाई पक्राउ गरि कानुनी कारबाहीका लागि निवेदन दिएको सुनाउनुभयो । प्रहरीले श्रीमान श्रीमतीको झगडा हो भन्ने थाहा पाएपछि दुवै पक्षलाई छलफलमा बोलायो र मिलापत्र गराइदियो । कानुनी उपचार खोज्न उहाँ अदालत जानुभयो । अदालतले उहाँसँग नागरिकता र विवाह दर्ता माग्यो । तर मनिषाको विवाह दर्ता र छोराछोरीको जन्मदर्ता पनि भएको छैन । उहाँ भन्नुहुन्छ “विवाह दर्ता गर्नुपर्छ भन्ने पहिला कहिल्यै लागेन । अहिले विवाह दर्ता गर्न उसले मानिरहेको छैन । विवाह दर्ता कागज पाएको भए कानुनी प्रक्रियामा जाने थिएँ ।

महिला अधिकारकर्मी गोमा आचार्यले नेपालमा महिलाका लागि बनेका कानुन बलिया भए पनि कार्यान्वयन अत्यन्त फितलो रहेको बताउनुहुन्छ । ‘महिलासम्बन्धी कानुन त नेपालमा बलिया छन् । कार्यान्वयन फितलो हुँदा महिलाहरू न्याय पाउँदैनन्’  उहाँले भन्नुभयो ।

घोडाघोडीकै २६ बर्षीया गीता (परिवर्तित नाम) अर्की पीडित महिला हुन् । श्रीमान गुमाएको एकबर्ष वित्न नपाउदै परिवारबाट हिंसा भोग्दै आउनुभएको छ । दुई सन्तानकी आमा उहाँ अहिले माइतीमा बस्नुहुन्छ । श्रीमानले आत्महत्या गरेपछि त्यसको दोस उहाँलाई लाग्यो । दुव्र्यवहारका कारण उहाँ मानसिकरूपले विक्षिप्त बन्नुभएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका महिला तथा बालबालिका शाखा प्रमुख प्रहरी हवल्दार गीता थापा भन्नुहुन्छ, “पीडित महिलाले पीडकलाई केही दिन भए पनि थुनोस् भन्ने चाहनु हुन्छ । प्रहरीले सिधै हत्कडी लगाएर थुन्न पनि मिल्दैन । मिलापत्र गरेर पठाउँदा केही समयमा हिंसा नरोकिएको खबर आउँछ ।” महिला सेलका प्रहरी हवल्दार थापाले घरेलु हिंसा पीडित महिलाहरुको उजुरी हाल्ने आँट जुटाउन निकै सकस भएको आफूले देखेको बताउनुहुन्छ ।

ईलाका प्रहरी कार्यालय सुख्खडमा अहिलेसम्म आएको घरेलु हिंसाको मुद्दामा कानुनी प्रक्रियामा कोही नगएको उहाँले बताउनुभयो ।

लम्कीचुहा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक जुना चौधरीले महिलाहरु आर्थिक रुपमा सक्षम नभएका कारण घरेलु हिंसा सहन बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ  “कानुनी प्रक्रियामा जाँदा आफू न्याय पाउँछु भन्दा पनि घर परिवारबाट अपहेलित होइन्छ भन्ने महिलामा डर देखिन्छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले महिलामाथि हिंसा बढ्नुमा पितृसत्तात्मक सोच प्रमुख कारण रहेको बताउनुहुन्छ । “महिलामाथि हिंसा गर्ने कतिपय महिला स्वयंको सोच पनि पितृसत्ताबाट प्रभावित छ । महिलामाथि हिंसा बढ्ने कारण भनेको पितृसत्तात्मक सोच नै हो” उहाँले भन्नुभयो ।

सेवा केन्द्रको अभाव हुनु पनि त्यसको कारण भएको ओरेक नेपाल कैलालीका गीता चौधरी बताउनुहुन्छ । कैलाली जिल्लाभर धनगढी उपमहानगरपालिकामा मात्र एउटा सेवा केन्द्र छ । हरेक पालिकामा एउटा सेवाकेन्द्र हुनुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ  “हामीकहाँ आएको कतिपयलाई धनगढीमा भएको सेवा केन्द्रमा पठाउँछौ । एउटा केन्द्रले कतिजनालाई थेगोस् ।

पूर्व न्यायाधीश जयानन्द पनेरुले महिलाहरु अंश मुद्दा र सम्वन्ध बिच्छेदका मुद्दामा अदालत आउने भए पनि घरेलु हिंसाका मुद्दा लिएर कम आउनेगरेको बताउनुहुन्छ । उहाँले घरेलु हिंसा पीडित महिलाले आफ्नो सुरक्षाका लागि आन्तरिम आदेश माग गरेमा कानुनअनुसार अन्तरिम सुरक्षा दिन सक्ने कानुनी व्यवस्था भएको उल्लेख गर्नुभयो ।

– चाँदनी आचार्य