बाजुरा, चैत २ गते । बाजुरामा छाउप्रथा अझै कायम छ। यहाँका महिलाहरूले बस्दै आएका छाउगोठ भत्किएपनि स्थानीयहरूको सोचमा परिवर्तन नआएपछि यो प्रथा जारी रहेको छ।
छाउप्रथाका कारण यहाँका किशोरीहरूले महिनावारी भएको बेला चिसो छाउगोठमा बस्न बाध्य हुनुपरेको छ। महिनावारी हुँदा घरमा बस्दा देवता रिसाउने भनाइका कारण महिलाहरू र किशोरीहरूलाई बाहिर छाउगोठमा राखिन्छ। त्यतिमात्र होइन, महिनावारी भएका महिलाहरूलाई दही, मही र दूधजस्ता पौष्टिक खानेकुरा पनि दिइँदैन।
खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी किशोरी पवित्रा बुढाले बताउनुभयो, “अभिभावक र धामी–झाँक्रीहरूको प्रभावका कारण छाउप्रथा कायम छ। अहिलेका किशोरीहरूले घरमा बस्ने खोजे पनि पहिलेका महिलाहरूले बस्न नदिने भएकाले बाहिर छाउगोठमा बस्न बाध्य छन्। मैले आफैं आफ्ना घरवालालाई बुझाएर घरमा बस्न पाएँ, तर अन्य किशोरीहरू अझै छाउगोठमा बस्दै आएका छन्।”
छाउगोठमा बस्दा झन्डै तीन जनाको ज्यान गएको घटना पनि छ। २०७५ पुस २५ गते बुढीनन्दा–९ अगाउँपानीमा आमा अम्भा बोहरा र उनका दुई छोरासहितको छाउगोठमा आगोले ज्यान गएको थियो।
बाजुरामा हालसम्म करिब ५४० वटा छाउगोठ भत्किएका छन्, तर स्थानीयहरूको सोच परिवर्तन नभएपछि प्रथा कायमै छ। त्रिवेणी, खप्तड छेडेदह, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा गौमुल र बुढीगङ्गा नगरपालिकामा छाउप्रथा अझै कायम छ।
बुढीगङ्गा नगरपालिकामा सबैभन्दा बढी महिलाले छाउप्रथा मान्ने गर्छन्। यहाँका महिलाहरू महिनावारी हुँदा महि, दही र दूधजस्ता पोषिला खानेकुरा पाउँदैनन् र गाई–भैसीसमेत छुन पाउँदैनन्।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, “महिनावारी भएको बेलामा छाउगोठमा बस्न प्रोत्साहन गर्ने निवेदन आउने वित्तिकै कानुनी कारबाही गरिनेछ। गोठ भत्काएर मात्र समस्या समाधान हुँदैन। सबैभन्दा ठूलो बाधा स्थानीयहरूको सोच हो। त्यसमा परिवर्तन आएपछि मात्र यो प्रथा हट्ने छ।”
उहाँले थप्नुभयो, “धर्म र रीतिरिवाजका कारण यो प्रथा जारी भए पनि कानुनी रूपमा गलत हो। महिनावारी भएकालाई घरबाट खानेकुरा वञ्चित गर्नु वा छाउगोठमा बस्न बाध्य पार्नु कानुनविरुद्ध छ। यस्तो गरेको खण्डमा जिम्मेवार व्यक्तिविरुद्ध कारबाही हुनेछ।”
– शेरबहादुर सार्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
