05/21/2026, 20:12:18
बिहिबार, जेठ ०७, २०८३

सर्वोच्च अदालतको पूर्ण बैठक : पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण


काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

बैठकले यही जेठ ६ गते ९५ वर्षको उमेर निधन हुनुभएका पूर्वन्यायाधीश प्रधानन्यायालयमा हुँदा न्याय तथा कानुन क्षेत्रमा राष्ट्रलाई पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो ।

स्वर्गीय प्रधान देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो”, बैठकपछि सहप्रवक्ता निराजन पाण्डेले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रुपमा परिचित निधनबाट न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको छ ।

स्वर्गीय प्रधानले विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त हुनुभई विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो । उहाँ २०५१ साल पुस ५ गतेसम्म कार्यरत हुनुहुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..