

रानी, जेठ ७ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पर्यटन, पूर्वाधार विकास, सुशासन, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सरकारले सङ्घीयताको संस्थागत सुदृढीकरण, आर्थिक–सामाजिक रूपान्तरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
नीति तथा कार्यक्रममा २०८३ साउनदेखि २०८५ असारसम्म “कोशी प्रदेश भ्रमण वर्ष” मनाइने घोषणा गरिएको छ । पर्यटनलाई आर्थिक विकासको मुख्य आधारका रूपमा स्थापित गर्न एकीकृत पर्यटन गुरुयोजना तयार गरिने तथा धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख छ ।
सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न सङ्घीय सरकारसँग समन्वय गर्ने, पोखरा र भैरहवासँग अन्तरप्रदेश हवाई उडान विस्तार गर्ने तथा हिमाली क्षेत्रमा ध्यान केन्द्र, वेलनेस हब र आरोग्य रिट्रिट निर्माणलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
पूर्वाधारतर्फ प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना कार्यान्वयन, बहुवर्षीय सडक तथा पुल आयोजना समयमै सम्पन्न गर्ने र केचना–सगरमाथा द्रुतमार्ग, तमोर–लेउती सुरुङमार्ग तथा चतरा–चौरीखर्क रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने घोषणा गरेको छ ।


खानेपानी तथा सिँचाइ क्षेत्रमा “एक घर एक धारा” कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । सोलार सिँचाइ, भूमिगत सिँचाइ तथा जलाधार संरक्षण कार्यक्रम मार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य सरकारले राखेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
कृषि क्षेत्रमा चिया, कफी, अलैँची, अदुवा, दूध तथा फलफूल उत्पादन र निर्यात प्रवर्द्धनलाई जोड दिइएको छ । कृषि यान्त्रीकरण, जैविक खेती तथा साना किसानलाई प्राविधिक सेवा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । सुशासन र प्रशासनिक सुधारअन्तर्गत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने, मन्त्रालय तथा निकाय पुनर्संरचना गरिने र प्रदेश सरकारका सेवा क्रमशः विद्युतीय प्रणालीमा आबद्ध गरिने उल्लेख छ ।
प्रदेश सरकारले युवालाई लक्षित “म अघि बढ्छु” अभियान, महिला तथा किशोरी सशक्तीकरण कार्यक्रम, खेलकुद पूर्वाधार विकास र स्थानीय भाषा तथा संस्कृतिको संरक्षणलाई पनि नीति तथा कार्यक्रममा समेटेको छ ।
– खेमराज सापकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































