05/21/2026, 21:57:58
बिहिबार, जेठ ०७, २०८३

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामै राख्न अनुमति


पर्सा, जेठ ७ गते । मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई थुनामै राखि अनुसन्धान गर्नेगरी जिल्ला अदालत पर्साले ४ दिन म्याद थप गरेको छ ।

प्रसाईंले सञ्चार माध्यम तथा सामाजिक सन्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाएको भन्दै प्रहरीले गत सोमबार राति वीरगन्जबाट पक्राउ गरेको थियो । अदालतले विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

यस अघि मंगलबार पर्सा प्रहरीले उनीविरुद्ध ती कसूरमा जिल्ला अदालतबाट अनुसन्धानका लागि पहिलोपटक ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको थियो ।

प्रसाईंको अभिव्यक्ति सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने तथा सरकारप्रति अवहेलना सिर्जना गर्ने खालको रहेको भन्दै वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईंका समर्थकहरूले भने बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा आसपास क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले उनको रिहाइको माग गर्दै सरकार र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

– शंकर आचार्य