काठमाडौँ, जेठ ७ गते । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडादायी अवस्थालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाइ थियो । उहाँले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रूपमा असफल ठहरिने तथ्य पनि उल्लेख गर्नुभयो ।
सांसद कार्कीले भन्नुभयो, “राज्यले कर उठाउँछ, सडक बनाउँछ; तर आफ्ना नागरिकलाई सडकमा मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्र होइन, राज्यको नैतिक र नीतिगत पराजय हुनेछ । अघिल्ला सरकारले के गरे, कसो गरे, कहाँ चुके भन्ने कुरा हामीलाई थाहा छैन । तर नेपाली जनताले यो सरकार र हामीबाट ठुलो आशा गरेका छन् । अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन ।


त्यसैले अब हामीले नेपाली जनतालाई भन्न सक्नुपर्दछ- तपाईंहरूले कोभिडको खोप त लगाउनुभयो, तर दिनहुँ सडकमा भइरहेको अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ, हामी दिन्छौँ । हामीले यो भन्न सक्नुपर्दछ । त्यसैले म अनुरोध गर्दछु। आजैदेखि हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौँ भने भविष्यमा हुने ठुला दुर्घटना र थुप्रै नागरिकको ज्यान जोगाउन सक्छौँ ।”
सांसद कार्कीले वर्तमान सरकारलाई नागरिकको आशा र भरोसाबाट पन्छिने कुनै छुट नभएको समेत बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































