बाजुरा, चैत ८ गते । मानव विकास सूचकाङ्कका आधारमा बाजुरा जिल्ला देशका ७७ जिल्लामध्ये पछिल्ला स्थानमा पर्छ। यही जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँ अझै पनि राज्यको विकासबाट गुमनाममै रहेको छ।
गुम्बा गाउँ जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै २०० किलोमिटर तथा गाउँपालिका केन्द्रबाट करिब १५० किलोमिटर दूरीमा पर्छ। यहाँका स्थानीयलाई पालिका केन्द्रसम्म आउन–जान अझै पनि चार–पाँच दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। जिल्लाका अन्य गाउँ बस्ती सडक सञ्जालमा जोडिँदै गए पनि यो गाउँ अझै सडक पहुँचबाट टाढा रहेको छ।
यो गाउँमा करिब ६५ जनजाति परिवारको बसोवास छ भने करिब ७४ मतदाता रहेका छन्। यहाँ मतदान केन्द्र समेत भए पनि मत माग्नका लागि अहिलेसम्म कुनै उम्मेदवार गाउँसम्म नपुगेको स्थानीयको गुनासो छ। हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल बाहेक अन्य दलका नेता तथा कार्यकर्ता यहाँ पुग्न सकेका छैनन्।
गुम्बा गाउँमा भोटे जनजातिको बसोवास छ। उनीहरू चौरी, भेडा र घोडा पालन गर्दै आएका छन्। यिनै जनावरको सहायताले दाल, चामल, नुन, तेललगायत दैनिक उपभोग्य सामग्री ढुवानी गरिन्छ।
पहिले यहाँ घोडेटो बाटोसम्म नभएकाले स्थानीयले ज्यान जोखिममा राखेर भिरालो बाटो हुँदै आवतजावत गर्नुपर्थ्याे । २०७६ सालमा गाउँपालिकाले घोडेटो बाटो निर्माण गरेपछि अहिले केही सहजता आएको छ।
स्थानीय जसबहादुर भण्डारीले विकास पहिले दुर्गम गाउँमा हुनुपर्ने भए पनि गुम्बा गाउँका बासिन्दाले अझै विकासको अनुभव गर्न नपाएको बताउनुभयो। “पहिले यहाँ गाउँ छ भन्ने कुरा पनि धेरैलाई थाहा थिएन। स्थानीय सरकारले केही काम गरेपछि मात्र गुम्बा गाउँ चिनिन थालेको हो,” उहाँले भन्नुभयो। उहाँका अनुसार खानेपानी, शिक्षा र स्वास्थ्यका केही आधारभूत सेवा पुगे पनि अन्य सेवा–सुविधाबाट गाउँ अझै वञ्चित छ।
हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष मङ्गल बुढाले सडक अभावकै कारण स्थानीयलाई आवतजावतमा निकै कठिनाइ भएको बताउनुभयो। “पहिला घोडेटो बाटोसमेत नहुँदा डोरीको सहारामा भिर पार गर्नुपर्थ्याे। अहिले बाटो बनेपछि केही सहज भएको छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार लामो समयदेखि स्थानीय सडक सञ्जालमा जोडिन चाहिरहेका छन्, तर राज्यको ध्यान नपुग्दा त्यो सपना अझै पूरा हुन सकेको छैन।
गुम्बा गाउँ जिल्लाकै दुर्गम बस्ती भएकाले यहाँ राजनीतिक गतिविधि र नेताहरूको उपस्थिति पनि न्यून रहेको उहाँले बताउनुभयो।
गाउँपालिका अध्यक्ष मल्लले २०७९ सालको निर्वाचनका क्रममा आफू गुम्बा गाउँ पुगेको र त्यसपछि शिक्षा, स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा केही काम गरिएको जानकारी दिनुभयो। “यो गाउँ जिल्लाको मात्र नभई देशकै दुर्गम बस्ती हो, तर यसको विकासका लागि प्रदेश र केन्द्रको पर्याप्त ध्यान पुग्न सकेको छैन,” उहाँले भन्नुभयो।
प्राकृतिक रूपमा सुन्दर यो क्षेत्र रानीसैन नजिकै पर्छ भने बझाङको साइपाल हिमाल जाने मार्ग पनि यही आसपासबाट पर्छ। यति सम्भावना हुँदाहुँदै पनि राज्यको नजर नपुग्दा यहाँका स्थानीयहरू अझै विकासबाट वञ्चित छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
