04/05/2026, 23:27:46
आइतबार, चैत २२, २०८२

दोहोरो सूचनाले गौशाला बजार बन्द


गौशाला (महोत्तरी), चैत २२ गते । महोत्तरीको गौशाला बजार यतिबेला केवल किनबेचको केन्द्र मात्र नभई प्रशासनिक निर्णय र समन्वय अभावको प्रत्यक्ष उदाहरण बनेको छ । बजार व्यवस्थापनका लागि एउटै निकाय अन्तर्गतका दुई फरक कार्यालयबाट जारी सूचनाले स्थानीय व्यापारीलाई अन्योलमा पार्दै बजारमा तनाव सिर्जना गरेको छ ।

शनिबार बिहान बजार क्षेत्रभित्र रहेका अतिक्रमित संरचना हटाउने क्रममा केही पसलमा तोडफोड भएपछि व्यापारी प्रत्यक्ष मारमा परेका छन् । व्यवसायीहरू भन्छन्, “हामी नियम पालना गर्न तयार छौँ, तर कुन नियम मान्ने भन्ने नै स्पष्ट छैन ।

केही दिनअघि गौशाला नगरपालिका कार्यालय र वडा नं. ५ कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरेका थिए । वडा कार्यालयको चैत १७ गतेको सूचनाले सडक अतिक्रमण हटाएर सरसफाइ गर्न जोड दिएको थियो । त्यसको दुई दिनपछि नगरपालिकाले जारी गरेको अर्को सूचनामा पसलअगाडि बनाइएका टहरा, छाना, जस्ता र बोर्ड हटाउन निर्देशन दिइएको थियो ।

यति मात्र होइन, नगरपालिकाको सूचनामा पसलअगाडिको स्लाबसम्म सामान राख्न पाइने तर नालाभन्दा बाहिर राख्न नपाइने उल्लेख थियो । यी फरक–फरक व्याख्याले व्यापारीहरू कुन सीमासम्म संरचना राख्न मिल्छ र कुन हटाउनुपर्ने भन्ने विषयमा अन्योलमा परेका छन् ।

गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतोका अनुसार, “दुवै निकाय समन्वयमा रहेको भनिए पनि कार्यान्वयनमा स्पष्टता नहुँदा विवाद सिर्जना भयो ।

आज बजारमा रहेको अतिक्रमण हटाउने क्रममा विवाद चर्किँदै जाँदा वडा नं. ५ का अध्यक्ष ओमप्रकाश गुप्ताले अनिश्चितकालीन बजार बन्दको घोषणा गर्नुभयो । उहाँका अनुसार अतिक्रमण हटाउने क्रममा समान व्यवहार नभएको र केही व्यापारीमाथि लक्षित रूपमा क्षति पुर्‍याइएको छ । “पूर्वसूचना बेवास्ता गर्दै केही संरचना तोडफोड गरियो, जसले व्यापारीमा आक्रोश बढायो,” उहाँले भन्नुभयो ।

यद्यपि बन्दको घोषणा गरिए पनि शनिबार दिउँसो बजार आंशिक रूपमा खुला रह्यो । यसले बाहिरबाट आएका सेवाग्राही थप समस्यामा परेका छन्— न त सेवा पूर्ण रूपमा उपलब्ध भयो, न त बन्दको स्पष्ट अवस्था रह्यो ।  यता नगरप्रमुख डा. दिपेन्द्र महतोले बजार बन्द समाधान नभएको बताउनुभयो । उहाँका अनुसार, “व्यवसायीहरू नगरपालिकामा आएर छलफलमार्फत समाधान खोज्नुपर्छ । बजार व्यवस्थापन सबैको सहकार्यबाट मात्र सम्भव हुन्छ ।

उद्योग वाणिज्य संघका उपाध्यक्ष देवचन्द्र महतो पनि यसमा सहमत देखिनुहुन्छ । उहाँले भन्नुभयो, “सुधारको क्रममा केही समस्या आउन सक्छन्, तर त्यसलाई संवादबाट मिलाउनुपर्छ, बन्द गरेर होइन ।

यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ— विकासका नाममा समन्वयबिना अघि बढ्दा यस्तै द्वन्द्व दोहोरिने होइन ?

महोत्तरी क्षेत्र नं. १ का सांसद प्रमोदकुमार महतोले यसलाई दीर्घकालीन परिवर्तनको संकेतका रूपमा हेर्नुभएको छ । उहाँका अनुसार, “१५ वर्षपछि गौशाला बजार नयाँ स्वरूपमा जान खोज्दैछ । पुरानो संरचना भत्किँदा केही असहजता आउन सक्छ, तर समन्वय र संयमताले मात्रै दीर्घकालीन विकास सम्भव हुन्छ ।

सांसद महतोले भन्नुभयो, “गौशालाको संरक्षणका लागि युवा पुस्ता अगाडि आएको छ । यसलाई हरेक पक्षको समर्थन आवश्यक छ । नगर युवा सञ्जाल र गौशाला नगरपालिकाले अगाडि बढाएको कदममा मेरो पूर्ण समर्थन छ । नयाँ संरचना निर्माणका क्रममा पुराना संरचना भत्किनु वा सामान्य टुटफुट हुन सक्छ, जसलाई व्यवस्थापन गर्दै हामी गौशाला विकासको पक्षमा अगाडि बढ्नुपर्छ ।

स्थानीय बुद्धिजीवीहरूले पनि गौशाला बजारको यो घटनाले नीति मात्र पर्याप्त नहुने, स्पष्टता र समन्वय अझ आवश्यक रहने टिप्पणी गरेका छन् । एउटै बजारमा दुई फरक निर्देशनले समस्या ल्याएको हुँदा यसलाई मिलाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।

नगरप्रमुख डा। महतोले थप भन्नुभयो, “समस्यामा परेका व्यवसायीको समस्या नगरपालिकाले समन्वय गरेर समाधान गर्नेछ । अनिवार्य रूपमा नालाको सीमाभित्र नै पसलका सामान राखेर व्यवसाय गर्नुपर्छ । समस्या समाधानका लागि मैले वडा अध्यक्षसँग समन्वय गरिरहेको छु । बजार विस्तारको क्रममा अवरोध नगरी सबैको साथ र सहयोग आवश्यक छ ।

– अजय शाह