04/22/2026, 17:47:44
बुधबार, बैशाख ०९, २०८३

आरक्ष पीडितद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि अर्धनग्न प्रदर्शन


कञ्चनपुर, वैशाख ९ गते । बुधबार दिउँसो १२ बजे टन्टलापुर गर्मीमा पुनर्स्थापनाको मागसहित आरक्ष पीडितहरूले अर्धनग्न रूपमा प्रदर्शन सुरु गरेका छन् ।

चर्को गर्मीका कारण दिउँसो बाहिर निस्कनै मुस्किल पर्दे गएको अवस्थामा आरक्ष पीडितहरू भने अर्धनग्न भएर पुनर्स्थापनाको मागसहित जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति पूर्ण आन्दोलनमा उत्रिएका छन् ।

गत साताको शुक्रबार देखि पुनर्स्थापनाको मागसहित प्रशासन मूल गेट अगाडि धर्ना दिन सुरु गरेका आरक्ष पीडितहरूले बुधबार देखि भने आन्दोलनको स्वरूप परिवर्तन गर्दे चर्को गर्मीमा अर्धनग्न भएर प्रदर्शन थालेका हुन् ।

७० वर्षीय आरक्ष अमरजङ्ग साहीले आफूहरूबाट जमिन खासेको २४ वर्ष बितिसक्दा समेत सरकारले पुनस्थापना नगरेको भन्दै चर्को गर्मीमा अर्धनग्न भएर शान्ति पूर्ण आन्दोलनमा उत्रिएको बताउनुभयो ।

रातिको समयमा बिच्छी, सर्प, मच्छरको परवाह नगरेर सडक छेउमा पाल मुनि सुत्दै आएका छौँ”, उहाँले भन्नुभयो, “आरक्ष पीडितहरूको स्वास्थ्य, खानपिन आधारभूत आवश्यकताबाट वञ्चित गर्दे आएको सरकारको विरुद्धमा उत्रिन बाध्य छौँ ।

blog

निर्वाचन पूर्व जमिनको मालिक बनाउने बाचा गरेको वर्तमान सरकारले कुनै कार्य नगरेपछि आफूहरू शान्तिपूर्ण रूपमा आन्दोलित हुनुपरेको आरक्ष पीडित सङ्घर्ष समितिका सचिव कृष्ण भट्टले बताउनुभयो । सरकारले माग पूरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन उहाँले सरकारसँग माग गर्नुभयो ।

आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार बनेको अवस्थामा समेत आरक्ष पीडितहरूको पुनर्स्थापनाका लागी वर्तमान सरकारले वास्ता नगरेपछि आन्दोलित हुनुपरेको बताउनुभयो । सरकारले माग पुरा नगरुन्जेल निरन्तर आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।

गत शुक्रबार देखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना बसेर आरक्ष पीडितहरूले १० कट्ठा जमिन नघटाई उपलब्ध गराउनुपर्ने, आधारभूत कुराहरूको निःशुल्क र ग्यारेन्टी गरिनुपर्ने, आरक्ष पीडितहरूको एउटै वडा घोषणा गरिनुपर्ने, आरक्ष पीडितहरूलाई द्वन्द्व पीडित घोषणा गरिनुपर्ने लगायतका मागहरू राख्दै आएका छन् ।

निरन्तर आन्दोलनका स्वरूप परिवर्तन गर्दे आरक्ष पीडितहरूले शान्तिपूर्ण रूपमा पर्दशन गरिरहेका छन् । विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका दुई हजार ४७३ आरक्ष पीडित परिवारहरू हाल महेन्द्रनगर स्थित जडिबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।

– भवानीदत्त भट्ट