04/18/2026, 18:17:38
शनिबार, बैशाख ०५, २०८३

पतिराम मृत्यु घटना प्रकरण : छानबिनका लागि चार जना पक्राउ


धनगढी, वैशाख ५ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित छिमेकी महेश श्रेष्ठको घरमा बेहोस भेटिएका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि छानबिनका लागि प्रहरीले श्रेष्ठ परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक चौधरीकी श्रीमती रुपाको जाहेरीको आधारमा महेशसहित उहाँकी आमा, दाजु र भाउजुलाई छानबिनका लाागि प्रहरीले नियन्त्रणमा लिएको हो । कुकुरले कुकुर मारेको निहुँमा मरेको कुकुर हेर्न भनेर बिहीबार राति आफ्नो श्रीमानलाई घरमा बोलाएर श्रेष्ठ परिवारले कुटपिट गरेको मृतककी श्रीमतीको आरोप छ । कुटपिटबाट श्रीमानको ज्यान गएको भन्दै उहाँले प्रहरीमा जाहेरी दिएपछि चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।

चौधरीकोे कुकुरले श्रेष्ठको कुकुर मारेको भन्दै महेशले पतिरामलाई राति मरेको कुकुर हेर्न आफ्नो घरमा लगेका जनाइएको छ । राति नै श्रेष्ठको घरमा बेहोस भेटिनु भएका चौधरीको उपचारको क्रममा ज्यान गएको थियो । मृतकको परिवारले कुटपिटबाट ज्यान गएको जिकिर गरे पनि श्रेष्ठ परिवारले भने छतमा मरेको कुकुर हेरेर फर्कैदै गर्दा सिढीबाट लडेर चौधरी बेहोस भएको दाबी गरेका छन् । बेहोस भएका चौधरीको शरीरमा राति नै महेश र उहाँकी आमाले आइस र पानी हाल्ने कार्य गरेको बताइएको छ ।

घटनाको बारेमा अझै सत्यतथ्य बाहिर नआएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जाहेरीको आधारमा चार जनालाई नियन्त्रणमा लिएका छौं । उहाँहरुले चौधरी सिढीबाट लडेर बेहोस भएको बताउनु भएको छ ।

– अविनाश चौधरी