04/21/2026, 14:41:59
मङ्गलबार, बैशाख ०८, २०८३

विवाह समारोहमै धारिलो हतियार प्रहार गरी युवकको हत्या


कञ्चनपुर, वैशाख ८ गते । कञ्चनपुरको पुनर्वासमा विवाह समारोहमै एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा भइरहेको एक विवाह कार्यक्रममा सहभागी हुन गएका सोही स्थानका १८ वर्षीय उज्ज्वल सायरमाथि अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटना सोमबार राति करिब साढे १ बजेतिर भएको हो । गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक खडक खत्रीका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

घटनाको कारण र संलग्न अन्य व्यक्तिको पहिचानका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयस्तरमा विवाहजस्तो सामाजिक कार्यक्रममा नै भएको यस्तो जघन्य घटनाले त्रास फैलिएको छ । प्रहरीले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने दाबी गरेको छ ।

– हरिश्चन्द्र बाग