

बुटवल, वैशाख १० गते । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । हिउँदे अधिवेशनले चारवटा विधेयक पारित गरेको छ ।
अधिवेशनले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्न बनेको विधेयक, प्रदेश जिवनाशक विषादी व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक र जिल्ला सभा तथा जिल्ला समन्वय समित सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहीबार रातिदेखि लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । १० बैशाख बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले बताए ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को बुधबारको निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभाको हिउँदे (चालु) अधिवेशन ८ मंसिर २०८२ बाट सुरु भएको थियो । चालु अधिवेशनमा १६ वटा बैठक बसेर अन्त्य भएको हो । बिहीबार साढे ११ बजे बसेको १६औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाएका थिए ।
१६औं बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।
– घनश्याम गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































