04/23/2026, 18:13:54
बिहिबार, बैशाख १०, २०८३

सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता नहुँदा काम गर्न गाह्रो भयो : आईजीपी कार्की


काठमाडौँ, वैशाख १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लाटर्फमहरूको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधमा परेका मुद्दाको छिनोफानो गर्न कठिन भएको बताएका छन् ।

राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा साइबर बुलिङ तथा साइबर अपराध र नियन्त्रणका लागि भइरहेका प्रयासको ब्रिफिङ गर्ने क्रममा महानिरीक्षक कार्कीले सामाजिक सञ्जालमार्फत ‘फेक आइडी’ बनाउने, गालीगलौज गर्ने, गलत सूचना दिने लगायत डिजिटल बैंकिङ जस्ता जघन्य अपराध बढिरहेको उल्लेख गर्दै पीडितलाई द्रुत गतिमा न्याय दिन चुनौती थपिएको बताए ।

धेरैजसो फेसबुक, इन्स्टाग्राम, हवाट्सएप लगायतका प्लाटफर्मको दुरुपयोग गर्दै हिंसात्मक गतिविधि भएका मुद्दा प्रहरीमा दर्ता भएको महानिरीक्षक कार्कीले बताए । उनका अनुसार कार्यालयमा साइबर क्राइमसँग सम्बन्धित दैनिक ८० देखि ९० वटा उजुरी पर्ने गरेका छन् ।

प्रहरी कार्यालयमा गत वर्ष साइबर बुलिङ र हिंसाका तीन हजार उजुरी परेको महानिरीक्षक कार्कीले जानकारी दिए । गत वर्ष भने विद्युतीय अपराधसम्बन्धी १८ हजार ९२६ उजुरी परेका थिए ।

सामाजिक सञ्जालका प्लेटर्फममार्फत व्यक्तिको चरित्रहत्या गर्ने, यौन हिंसा गर्ने, गालीगलौच गर्ने र मिथ्या झुटा सूचना प्रसार गर्ने लगायतका क्रियाकलापले अपराधिक गतिविधिलाई बढावा दिएको उनले सुनाए ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..