05/09/2026, 23:56:03
शनिबार, बैशाख २६, २०८३

अमेरिकी मिडियामा चीनले इरानलाई हतियार पठाउनसक्ने चर्चा


काठमाडौँ, चैत २९ गते । चीनले आगामी साताहरुमा इरानलाई काँधमा राखेर चलाउन मिल्ने क्षेप्यास्त्रहरु पठाउनसक्ने अनुमान अमेरिकी गुप्तचर एजेन्सीहरुले लगाएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले सुरक्षा अधिकारीहरुलाई उद्रृत गर्दै यस्तो खुलासा गरेको हो ।

तर, अहिलेसम्म द्वन्द्वमा अमेरिका–इजरायली सेनाविरुद्ध चिनियाँ क्षेप्यास्त्रहरू प्रयोग गरिएको कुनै प्रमाण फेला नपरेको ती अधिकारीहरुले बताएका छन् । इरानमा हतियार पठाउने विषयमा चीनमा बहस चलिरहेको पनि समाचारमा उल्लेख छ ।

चीनले गोप्य रुपमा आफ्ना कम्पनीहरुलाई सैन्य उत्पादनमा प्रयोग गर्न सकिने केमिकल, इन्धन र कम्पोनेन्टहरु पठाउन अनुमति दिनसक्ने पनि समाचारमा उल्लेख छ । यसले युद्धमा इरानलाई सुदृढ अवस्थामा पुर्‍याउनसक्छ । म्यानप्याड्स नामक काँधमा राखेर चलाउन सकिने मिसाइलहरूले विमानहरूलाई खसाल्न सक्छन् । यस्ता हतियार पठाउने तयारी चीनले गरिरहेको छ ।

न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ,  ‘चीनले इरानमा सैन्य उपकरणहरू पठाउन इच्छा देखाएको छैन । तर चीन सरकारका केही अधिकारीहरू बेइजिङले आफ्ना कम्पनीहरूलाई प्रत्यक्ष रूपमा इरानमा हतियार आपूर्ति गर्न अनुमति देओस् भन्ने चाहन्छन्,’

इरानमा क्षेप्यास्त्र ढुवानीको अनुमति दिने कदम एक महत्वपूर्ण निर्णय हुनेछ । यसले चिनियाँ नेताहरु अमेरिकालाई पश्चिम एशिया युद्धमा परास्त गर्न सक्रिय छन् भन्ने संकेत गर्छ ।

अमेरिकी गुप्तचर निकायहरुले रूसले इरानी सेनालाई विशेष उपग्रहमार्फत अमेरिका–इजरायलबारेको गोप्य सुचना दिइरहेको बताएका छन् । यस सुचनाका आधारमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले पश्चिम एसियाका सैन्य अखडाहरुमा निशाना लगाइरहेको उनीहरुको दाबी छ । यद्यपी, रुस र इरान दुबैले यसलाई खण्डन गरेका छन् ।

शनिबार सीएनएनले गुप्तचरले दिएको जानकारीका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा मागेको थियो । ट्रम्पले तेहरानलाई हतियार पठाएमा बेइजिङले नराम्रो परिणाम भोग्नुपर्ने संकेत गरे । ‘यदि चीनले त्यसो गर्छ भने, चीनलाई ठूलो समस्या हुनेछ,’ ह्वाइट हाउसबाट फ्लोरिडा जाँदै गर्दा उनले सीएनएनसँग भने ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी गुप्तचरले दिएको सुचना गलत रहेको बताए । ‘चीनले कहिल्यै पनि द्वन्द्वको कुनै पनि पक्षलाई हतियार प्रदान गरेको छैन । यो जानकारी झुठो हो,’  उनले सीएनएनसँग भने । चीनले युद्ध सुरु भएदेखि नै यसलाई रोक्नका लागि पहल गर्दै आइरहेको उनले बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्प मेइ महिनामा बेइजिङ भ्रमणमा जाने तय छ । त्यस दौरान व्यापार, प्रविधि र सुरक्षासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । हर्मुजको जलघाँटी बन्द हुँदा चीनले पनि ठूलो मर्का खेपिरहेको छ ।