04/06/2026, 09:06:05
सोमबार, चैत २३, २०८२

पूर्वप्रधानमन्त्री देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तीव्रता


काठमाडौँ, चैत १७ गते । सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानकै क्रममा पूर्वमन्त्री खड्का आइतबार पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीविरुद्ध थप अनुसन्धान अघि बढाएको हो । ६ महिनाअघि नै प्रारम्भिक छानबिन थालेको विभागले अनुसन्धानका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयलाई गत साता पत्र पठाएको थियो । त्यही पत्रका आधारमा पूर्वमन्त्री तथा कांग्रेस नेता खड्कालाई सीआईबीले पक्राउ गरेको हो ।

खड्का पक्राउलगत्तै गृहमन्त्री सुधन गुरुङले ‘सीआईबीको जरुरी पक्राउ पुर्जी’ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । ‘पूर्वऊर्जामन्त्री खड्कालाई २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको’ पनि उनले फेसबुकमा लेखेका छन् । गृहमन्त्री गुरुङ र विभागले अन्य नेताको अनुसन्धानबारे खुलाएका छैनन् ।

बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिइसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको व्यहोरा मनासिब देखिएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम आइतबारदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद दिइएको अदालतले जनाएको छ ।

प्रदर्शनकारीले गत २४ भदौमा तोडफोड र आगजनी गरेका केही नेताका घरमा जलेका नोट भेटिएका थिए । त्यसपछि विभागले मुचुल्का उठाएर छानबिन सुरु गरेको थियो । नेताहरूको कतिपय चलअचल सम्पत्तिको प्रारम्भिक विवरणसमेत संकलन गरेर विस्तृत अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । ‘प्रारम्भिक जाँचबुझ र छानबिनमा कैफियत भेटिएपछि यसलाई विस्तृत अनुसन्धानमा लगिएको हो,’ विभागका एक अधिकारीले भने, ‘अनुसन्धानमा सीआईबीको सहयोग लिइरहेका छौं ।

विभागले प्रहरी प्रधान कार्यालयमार्फत आग्रह गरेपछि आफूहरूले पक्राउ र अनुसन्धानमा सहयोग गरिरहेको सीआईबी प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । त्यही क्रममा पूर्वमन्त्री खड्का पक्राउ परेको उनको भनाइ छ । सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन तयार गरी विभागमा पठाउनुपर्नेछ । त्यसपछि विभागले सरकारी वकिल कार्यालयसँग राय लिनेछ । मुद्दा चलाउने भए विभाग आफैंले आरोपितविरुद्ध बिगो कायम गरी कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा दायर गर्नुपर्नेछ । मुद्दा दायर गर्नु नपरे त्यहींबाट निर्णय गरेर महान्यायाधिवक्ता कार्यालयमा पठाउन सक्छ ।

सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप नेताहरूमाथि लाग्दै आएको छ । तर निरन्तर सत्ता–शक्तिमा रहेका नेताहरूविरुद्ध सरकारी संयन्त्रहरूले अनुसन्धान गर्ने आँट देखाएका थिएनन् । पछिल्लो निर्वाचनमा करिब दुईतिहाइ सिट जितेर रास्वपाले एकल बहुमतको सरकार बनाएसँगै विभागले अनुसन्धानलाई तीव्रता दिएको हो ।

विभाग स्रोतका अनुसार अनुसन्धान दायरामा तानिएका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, तिनका आफन्त तथा परिवारका सदस्यको चलअचल सम्पत्तिको खोजबिन एक चरणमा भइसकेको छ । विभागले विभिन्न बैंक/वित्तीय संस्थामा बचत, लगानी, कारोबार, दर्ता कम्पनीको विवरण माग्दै राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखेको थियो । त्यसको विभागमा प्रारम्भिक विवरण आइसकेको एक अधिकारीले जानकारी दिए । विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग उनीहरूका नाममा रहेको जग्गाको विवरण मागेको थियो ।

प्रहरीका पूर्वडीआईजी तथा सीआईबीका पूर्वप्रमुख हेमन्त मल्लका अनुसार पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको यो पहिलो घटना हो । सीआईबीबाट अनुसन्धान गर्दा कसुरको गहिराइसम्म पुग्न सहज बन्ने उनको दाबी छ । ‘विगतमा पनि विभागले यस्ता जटिल र विशेष प्रकृतिमा सीआईबीबाट पनि अनुसन्धान गराउँथ्यो । यस पटक त्यसकै निरन्तरतास्वरूप सहयोग लिइएको देखिन्छ, जुन राम्रो पक्ष हो,’ उनले भने ।

मल्लका अनुसार सत्ता–शक्तिको नेतृत्वमा रहेका, शासन–सत्तामा पकड भएका व्यक्तिविरुद्धको अनुसन्धान सहज हुने गरेको थिएन । ‘त्यस्ता व्यक्तिविरुद्ध अनुसन्धान गर्दा दबाउने, प्रभावित पार्ने खेल हुने गरेको थियो,’ उनले भने । नेताहरू जोडिएको अहिलेको अनुसन्धान निष्कर्षमा पुगे शासन–सत्तामा रजगज गरेर सम्पत्ति आर्जन गर्ने र कानुनलाई धज्जी उडाउने आँट गर्न धेरै निर्णयकर्ता हच्किने पूर्वडीआईजी मल्ल बताउँछन् ।

पूर्वप्रधानमन्त्री देउवा तीन दशकदेखि सार्वजनिक लाभको पदमा थिए । २०४८ देखि २०७९ सम्मका सबै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए । गत २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी प्रतिस्पर्धामा थिएनन् । गत २७–३० पुसको विशेष महाधिवेशनअघि देउवा कांग्रेस सभापति थिए ।

२०४८ मा गृहमन्त्री बनेका देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक प्रधानमन्त्री भएका थिए । देउवा–पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् । जेन–जी आन्दोलन हुँदा आरजु परराष्ट्रमन्त्री थिइन् । प्रदर्शनकारीले २४ भदौमा निवासमै पुगेर देउवा दम्पतीमाथि हातपात गरेका थिए । उनीहरूको घर पनि आगजनी गरिएको थियो ।

केही समय यहींको अस्पतालमा उपचार गराएका देउवा दम्पती थप उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका थिए । २८ कात्तिकमा उनीहरू नेपाल फर्किएका थिए । १३ फागुनमा फेरि देउवा सिंगापुर गएका थिए । आरजु पनि दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू अहिले कहाँ छन् भन्ने खुलाइएको छैन । देउवा–पुत्र जयवीरसिंह र आरजुका भाइ भूषण राणा पनि देशबाहिर छन् ।

विभागले १२ असोजमा भूषणको जावलाखेलस्थित निवासमा छापा मारेर केही उपकरण तथा कागजात नियन्त्रणमा लिएको थियो । त्यसको केही दिनमै भूषणका केही नातेदारका घरमा विभागले छापा मारेको थियो । विभागले अनुसन्धान अघि बढाएपछि पूर्वप्रधानमन्त्री देउवाका भतिज प्रकाश देउवा पनि सम्पर्कविहीन छन् । उनी अमेरिका पुगिसकेको निकटस्थको भनाइ छ ।

एमाले अध्यक्षसमेत रहेका ओली २०७२, २०७४, २०७७ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री, २०५१ मा गृह र २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । हालै सम्पन्न प्रतिनिधिसभा र २०६४ को संविधानसभा चुनावबाहेक २०४८ यताका ६ चुनावमा ओली विजयी भएका थिए । हालैको चुनावमा भने रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहसँग पराजित भएका थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ भदौको जेन–जी आन्दोलन दमनको कसुरदार औंल्याएपछि ओली शनिबार पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहाल २०६२/६३ को राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिमा सक्रिय भएका हुन् । २०६४ यताका पाँचवटै संसदीय चुनावमा उनी विजयी भएका छन् । उनी २०६५, २०७३ र २०७९ मा गरी तीन पटक प्रधानमन्त्री भए । दाहाल विवादास्पद व्यवसायी शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका थिए, जुन घर २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा पूर्वमन्त्री खड्काको घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानी संकलन गरेर फरेन्सिक परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट ‘पोजेटिभ’ आएपछि अनुसन्धानको बाटो खुलेको विभागका एक अधिकारीको भनाइ छ । विभागले ५ असोजमा देउवा र खड्का तथा ७ असोजमा दाहाल निवास पुगेर मुचुल्का तयार पारेको थियो । सत्ता र शक्तिमा बसेर पदको दुरुपयोग गर्ने र त्यसकै आडमा आर्जित कालोधन जोडेको आरोप नेताहरूमाथि लाग्ने गरेको छ । सार्वजनिक खरिद, विभिन्न नियुक्ति, सरुवाबढुवा, राष्ट्रिय सम्पत्ति हिनामिना लगायत अनेक प्रकरणमा पटकपटक विवादित भए पनि उनीहरूमाथि कहिल्यै अनुसन्धान भएको छैन ।

पूर्वप्रधानमन्त्री ओलीमाथि विवादित व्यापारीलाई पोसेको, सरकारी/सार्वजनिक सम्पत्ति न्यूनतम भाडादरमा निजी क्षेत्रलाई सुम्पिएको आरोप लाग्दै आएको थियो । ओलीकै जोडबलमा नेपाल ट्रस्टको जग्गा यती होल्डिङ्सलाई गैरकानुनी रूपमा भाडामा दिएको आरोप पनि छ । पञ्चायतकालमै उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा दिइएको झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा हिनामिना गर्ने प्रपञ्चलाई सहयोग पुग्ने गरी कानुन संशोधन गरेको, मन्त्रिपरिषद्बाट निर्णय गराएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

कांग्रेस नेता खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए । जलविद्युत् उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए । दाहालमाथि भने शान्ति प्रक्रियामा आएपछि तत्कालीन विद्रोही माओवादीको समायोजन नटुंगिएसम्म सरकारले दिएको भरणपोषण खर्च हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

– मातृका दाहाल