04/05/2026, 18:21:58
आइतबार, चैत २२, २०८२

सामाजिक सञ्जाल र एआईको दुरुपयोग आरोपमा देशभरबाट ३५ जना पक्राउ


काठमाडौं, फाल्गुन १९ : प्रतिनिधिसभा सदस्य निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जना पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधि र सामाजिक सञ्जाल दुरुपयोग गरी अफवाह फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार निर्वाचन र नियमित शान्ति-सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी गतिविधि गर्ने र एआइको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, झुठा प्रचार-प्रसार गर्ने लगायत कसुरमा उनीहरू पक्राउ परेको प्रवक्ता काफ्लेको भनाइ छ । प्रहरीले निर्वाचन सुरक्षालाई खलल पुर्‍याउने गरी सामाजिक सञ्जाल दुरुपयोग गर्नेविरुद्ध निगरानी र नियन्त्रण गर्न साइबर ब्यूरो र देशभरका प्रहरी कार्यालयबाट विशेष संयन्त्र परिचालन गरेको छ ।

निर्वाचन आयोग, प्रहरीकै केन्द्रीय निर्वाचन सेल, जिल्ला निर्वाचन सेल मार्फत यो संयन्त्र देशभर सक्रिय बनाइएको छ । योसहित समग्र शान्तिसुरक्षा व्यवस्थापनका लागि प्रहरीले निर्वाचन सूचना व्यवस्थापन प्रणाली (इआईएमएस), भौगोलिक सूचना प्रणाली (जीआईएस) लगायत प्रणालीको पनि विकास गरी निर्वाचन व्यवस्थापन तथा सुरक्षामा आफ्नो संयन्त्र तैनाथ गराएको छ ।

प्रहरी प्रधान कार्यालयमै गत साता एआई युनिट गठन गरी कार्यान्वयनमा ल्याइएको छ । यो युनिटले एआइको दुरुपयोगबाट हुने कसुरको निगरानी र जाँच गरी दोषी देखिए संलग्नलाई कारबाहीका लागि सम्बद्ध अनुसन्धान युनिटलाई पठाउँछ ।