09/28/2026, 16:20:56
सोमबार, असोज १२, २०८३

रेखा पौडेल सम्मिलित फ्नोम पेन्ह क्राउन कम्बोडियाली महिला लिग च्याम्पियन


काठमाडौँ, १३ असोज । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित फ्नोम पेन्ह क्राउन महिला टोलीले कम्बोडियाली महिला लिग २०२५ को उपाधि जितेको छ।

फ्नोम पेन्ह क्राउनले आठ टोली सहभागी लिगमा अपराजित रहँदै सिजन पूरा गरेको हो। १४ खेलबाट टोलीले ४२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। दोस्रो स्थानमा विसाखा महिला टोली ३४ अंकसहित रह्यो भने नागावर्ल्ड महिला टोली २५ अंकसहित तेस्रो भयो।

लिगको अन्तिम खेलमा फ्नोम पेन्ह क्राउनले बोएङ केट महिला टोलीलाई ८–० गोलले पराजित गरेको थियो। उक्त खेलमा सेउन भिफाले चार गोल गर्दै लिगमा आफ्नो गोल संख्या ३९ पुर्‍याइन्।

सेउन भिफाले लिगको सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीको अवार्डसमेत हात पारिन्। फ्नोम पेन्ह क्राउनकी चेआ फरिया उत्कृष्ट गोलरक्षक घोषित भइन् भने टोलीका प्रशिक्षक माओ साविनले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए।

## रेखाको महत्वपूर्ण योगदान

नेपाली फरवार्ड रेखा पौडेल फ्नोम पेन्ह क्राउनको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रूपमा रहेकी थिइन्। उनले क्लबका लागि डेब्यू खेलमै गोल गरेकी थिइन्।

उपाधि जितेपछि रेखाले फ्नोम पेन्ह क्राउनको महिला टोलीको प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको बताएकी छन्। उनले सिजनभरको मेहनत, सुधार र प्राप्त अनुभवलाई आफ्नो यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेकी छन्।

रेखा सम्मिलित क्राउनले सेमिफाइनलमा नेपाली खेलाडी प्रीति राई आबद्ध प्रेह खान रिच स्वे रिएङ एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा भने क्राउनले विसाखालाई ३–० ले हराएको थियो।

यससँगै फ्नोम पेन्ह क्राउन महिला टोलीले लगातार चौथोपटक कम्बोडियाली महिला लिगको उपाधि जितेको छ।

विदेशी क्लब फुटबलमा रेखाको यो अर्को महत्वपूर्ण सफलता हो। उनले यसअघि यूएईमा अबुधाबी कन्ट्री क्लबबाट खेल्दै यूएई महिला लिग प्रथम डिभिजनको उपाधिसमेत जितेकी थिइन्।