

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोधमा न्युयोर्कमा भएको प्रदर्शनका क्रममा प्रहरीले कम्तीमा ३० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चर्चित हलिउड अभिनेत्री, राजनीतिज्ञ र सामाजिक अभियन्ताहरू रहेका छन् ।
पक्राउ पर्नेहरूमा अस्कर विजेती अभिनेत्री सुजान स्याराण्डन, एमी अवार्ड विजेता हानाह आइनबिन्डर, डेमोक्रेटिक कांग्रेसकी उम्मेदवार दारियालिजा अविला चेभालियर र न्युयोर्क सिटी काउन्सिलकी सदस्य चि ओसे रहेको रायटर्सले जनाएको छ ।
प्रदर्शनमा सहभागी ५० वर्षीया इरानी तथा यहूदी मूलकी विश्वविद्यालयकी प्राध्यापक मनिजेह मोरादियानले भनिन्, “गाजामा के भइरहेको छ, हाम्रो नाममा, हाम्रो करको पैसा प्रयोग गरेर एउटा सम्पूर्ण समाजलाई नष्ट पार्ने काम विरुद्ध बोल्नु हाम्रो जिम्मेवारी हो । नेतान्याहुसँग यी नृशंसताहरूलाई उचित ठहर्याउन संयुक्त राष्ट्र संघको मञ्च प्रयोग गर्ने कुनै अधिकार छैन ।”
उक्त प्रदर्शनका क्रममा महासभामा नेतान्याहुले इजरायलको कार्यवाहीको बचाउ गरिरहँदा दर्जनौं प्रतिनिधिहरू हलबाट बाहिरिएका थिए ।
प्यालेस्टिनीहरूलाई समर्थन गर्ने यहूदी सक्रियतावादी समूह ‘जुइस भ्वाइस फर पिस’ (Jewish Voice for Peace) ले आयोजना गरेको उक्त र्यालीमा करिब २०० जना सहभागी थिए । सहभागीहरूले ‘बम होइन, मानिसमा लगानी गरौं’, ‘युद्ध होइन’ र ‘स्वतन्त्र प्यालेस्टाइन’ लेखिएका सेतो टि-सर्ट लगाएका थिए ।
प्रदर्शनकारीहरूले सडकमा यातायात अवरुद्ध गरेपछि प्रहरीले लाउडस्पीकरमार्फत हट्न आदेश दिएको थियो । तर, मुख्य समूह सडकमै बसेर नेतान्याहुविरुद्ध नारा लगाइरहेको थियो । त्यसपछि प्रहरीले एक-एक गरी प्रदर्शनकारीहरूलाई पक्राउ गरी हातमा प्लास्टिकको डोरी (जिप टाई) ले बाँधेर प्रहरी बसमा लगेको थियो । बसभित्र लगिएका सक्रियतावादीहरूले पनि ‘नेतान्याहु नर्कमा जाओस्’ भन्दै नारा लगाइरहेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































