09/25/2026, 14:21:36
शुक्रबार, असोज ०९, २०८३

एसियाली खेलकुदमा नेपालको शानदार जित, अफगानिस्तान ५ विकेटले पराजित


काठमाडौँ, असोज ९ गते । जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा रोहित पौडेलले अविजित ३३ रन बनाए। उनले ३२ बलमा ४ चौका प्रहार गरे। सन्दीप जोराले ३४ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। कुशल मल्लले ९ तथा गुल्सन झाले अविजित १ रन बनाए।

नेपालले सुरुवातमै कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो। त्यसपछि सन्दीप जोराले पारी सम्हाल्दै ३४ रन बनाए। जोराको विकेटपछि कुशल मल्ल पनि ९ रनमा रनआउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १५ रन बनाएर आउट भए पनि रोहित पौडेलले अन्तिमसम्म टिकेर नेपाललाई जित दिलाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। अफगानिस्तानका लागि फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाए भने नङ्गेलिया खानले अविजित १७ रन जोडे।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट लिए। भुर्तेलले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिएका थिए। राजवंशीले ४ ओभरमा १३ रन दिँदै ३ विकेट लिए।

यस जितसँगै नेपालले एसियाली खेलकुदको समूह चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र आयोजक जापान रहेका छन्।