काठमाडौँ, भदौ २८ गते । चर्चित लोकगायक प्रकाश दुतराजले आफ्नो जन्मथलो म्याग्दीको सदरमुकाम बेनीबाटै नयाँ सांगीतिक यात्राको थालनी गर्नुभएको छ।
लोकसंगीतलाई आधुनिक प्रस्तुति र प्रत्यक्ष सामूहिक वाद्यवादनसँग जोड्ने उद्देश्यले निर्माण गरिएको ‘दुतराज प्रकाश एन्ड लाइनअप‘ ब्यान्डको सांगीतिक कन्सर्ट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीस्थित खुलामञ्चमा सम्पन्न भएको हो। १४ वर्षअघिदेखि मनमा सजाएको नेपालकै पहिलो लोकसंगीत ब्यान्डको सपना आफ्नै बाल्यकाल बितेको माटोबाट पूरा गर्न पाउँदा दुतराजले खुसी व्यक्त गर्नुभयो।
विभिन्न विधाका वाद्यवादक र प्राविधिक गरी १२ जना कलाकार समेटिएको यस ब्यान्डमार्फत अब दुतराजका प्रस्तुतिहरू ट्र्याकमा नभई प्रत्यक्ष बाजागाजासहित हुनेछन्।
‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’ तथा ‘ऐनाझ्यालैमा‘ जस्ता चर्चित गीतका गायक दुतराजले नेपाली मौलिक बाजा र लोकगीतलाई नयाँ शैलीमा देश–विदेशका दर्शकमाझ पुर्याउने लक्ष्य राख्नुभएको छ। प्रवेश निःशुल्क गरिएको उक्त कन्सर्टमा सिमसिमे पानीका बाबजुद म्याग्दी, बागलुङ र पर्वतका ठूलो संख्याका दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यसअघि भदौ १२ गतेका लागि तय भएको कार्यक्रम रसुवाको बाढीपहिरोका कारण स्थगित भई भदौ २७ गते शनिबार सम्पन्न भएको हो। कन्सर्टको सुरुवातमा रसुवा बाढीका मृतकहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो।
म्याग्देली बालकलाकार क्रियशन रोकामगरको समेत विशेष प्रस्तुति रहेको यस कार्यक्रममा विपन्न परिवारबाट सांगीतिक उचाइ छोएका दुतराजको संघर्षपूर्ण यात्रा युवा पुस्ताका लागि प्रेरणादायी रहेको आयोजकले जनाएको छ।
प्रकाश दुतराजको नयाँ सांगीतिक ब्यान्ड र कन्सर्टको मुख्य सारसंक्षेप
| विषय / शीर्षक | विवरण तथा मुख्य जानकारी |
| नयाँ ब्यान्डको नाम | दुतराज प्रकाश एन्ड लाइनअप (नेपालको पहिलो लोकसंगीत ब्यान्ड) |
| कन्सर्ट आयोजना स्थल | बेनीस्थित खुलामञ्च खेलमैदान, म्याग्दी (आयोजक: म्याग्दी उद्योग वाणिज्य संघ) |
| ब्यान्डको मुख्य विशेषता | १२ जना कलाकारको प्रत्यक्ष (Live) वाद्यवादनसहितको सांगीतिक प्रस्तुति |
| मूल उद्देश्य | नेपाली मौलिक बाजा र लोकसंगीतलाई नयाँ शैलीमा विश्वभर प्रवर्धन गर्नु |
| लोकप्रिय सिर्जनाहरू | ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘ऐना झ्यालैमा’ |
| विशेष प्रस्तुति/सम्मान | बालकलाकार क्रियशन रोकामगरको प्रस्तुति र सम्मान |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































