09/11/2026, 12:49:26
शुक्रबार, भदौ २६, २०८३

आज कोशी, बागमती र गण्डकीका हिमाली, पहाडी र तराई भू-भागमा भारी वर्षाको सम्भावना


काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका अधिकांश भू-भागमा बादल लाग्ने तथा वर्षाको गतिविधि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा र तराई भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको चेतावनी :
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी तथा तराई भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको अवस्था :
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ।

राति मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

रातिमा पनि भारी वर्षा :
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सतर्कता आवश्यक :
लगातारको वर्षाका कारण पहिरो, बाढी, डुबान तथा सडक अवरुद्ध हुनसक्ने भन्दै महाशाखाले पहाडी तथा तराई दुवै भू-भागका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा नदी, खोला र पहिरो जोखिमयुक्त स्थानमा नबस्न पनि अनुरोध गरिएको छ।