09/08/2026, 21:58:30
मङ्गलबार, भदौ २३, २०८३

उपत्यकामा ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ एप सञ्चालनमा, ५० वटा चोरीका मोटरसाइकल हस्तान्तरण


काठमाडौँ, भदौ ५ गते । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको रुट, अवस्था र समय पहिचान गर्न सहज बनाउने उद्देश्यले ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइएको छ।

सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र ललितपुरका प्रमुख चिरीबाबु महर्जनले उक्त एप सार्वजनिक गर्नुभएको हो। प्राविधिक रूपमा जिपिएस (GPS) जडान भएका करिब १,२०० सार्वजनिक सवारीसाधन आबद्ध भइसकेको यस एपले यात्रुलाई गाडी आइपुग्ने समय र जामको अवस्थाबारे जानकारी दिनुका साथै नियमनकारी निकायलाई ट्राफिक व्यवस्थापन र सुरक्षा निगरानीमा सहयोग पुर्‍याउनेछ।

अर्को प्रसङ्गमा, काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिनका वास्तविक धनीलाई हस्तान्तरण गरेको छ। वरिष्ठ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीधनीहरूलाई ती सवारीसाधन साँचो सुम्पिनुभएको हो। हालैको ‘जेन-जी आन्दोलन‘का क्रममा ठुलो सङ्ख्यामा दुईपाङ्ग्रे सवारीसाधन चोरी भएको निवेदन परेको र त्यसमा प्रहरीकै सवारीसाधनसमेत परेको ट्राफिक प्रहरीले जनाएको छ।