

काठमाडौँ, साउन २४ गते। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण र उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ३२औँ विश्व आदिवासी दिवस नेपालमा विभिन्न कार्यक्रमसहित मनाइएको छ।
यस वर्ष नेपालमा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ साताव्यापी कार्यक्रम आयोजना गरिएको छ। अन्तर्राष्ट्रियस्तरमा भने ‘आदिवासी सुडेनीहरूको सम्मानः जीवन र कल्याणको संरक्षण’ भन्ने नाराका साथ दिवस मनाइएको छ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ। गुरुङ, मगर, थारु, नेवार, तामाङ, राई, लिम्बू लगायत ५९ जातीय संस्थाहरूले आ–आफ्ना ब्यानरसहित र्यालीमा सहभागिता जनाएका छन्। सहभागीहरू परम्परागत पोशाकमा सजिएर विभिन्न सांस्कृतिक झाँकीसहित र्यालीमा सहभागी भएका थिए।
भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली र सहिदगेट हुँदै खुलामञ्चमा पुगेर मूल समारोहमा परिणत भएको छ। खुलामञ्चमा आयोजित कार्यक्रममा विभिन्न जातजातिका परम्परागत गीत तथा नृत्य प्रस्तुतिका साथै जातीय परिकारको प्रदर्शनी र विभिन्न स्टलहरू राखिएका छन्। चर्चित सांगीतिक समूह कुटुम्बको प्रस्तुति पनि कार्यक्रमको आकर्षणका रूपमा रहेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। आदिवासी समुदायले विश्वमा बोलिने अनुमानित ७ हजार भाषामध्ये ठूलो हिस्सा बोल्नुका साथै करिब ५ हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन्।
आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, परम्परा, ज्ञान तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी अभ्यासलाई संरक्षण गर्दै आएका छन्। पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि उनीहरूले लामो समयदेखि संघर्ष गर्दै आएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिको अधिकार र पहिचानको सम्मानसँगै उनीहरूको भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिको संरक्षण तथा समावेशी र न्यायपूर्ण समाज निर्माणको आवश्यकतालाई जोड दिँदै आएको छ।
















What if you could work from Anywhere?
Explore More with something that can change your Life!























