

काठमाडौँ, असोज १२ गते । असोज ८ गतेदेखि भइरहेको निरन्तर वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीका कारण गण्डकीसहित लुम्बिनी, मधेश र कर्णाली प्रदेशका प्रसारण तथा वितरण सञ्जालमा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी नदीको प्रवाह क्षेत्रमा आएको बाढीका कारण प्रसारण लाइन अवरुद्ध हुनुका साथै सुरक्षाका लागि विभिन्न जलविद्युत् आयोजना बन्द गर्नुपरेपछि आइतबार करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको हो।
कालीगण्डकी कोरिडोर अवरुद्ध हुँदा ३५८ मेगावाट उत्पादन बन्द
बाढीका कारण मुख्य रूपमा २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध भएको छ। उक्त प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गर्ने १३ वटा उत्पादन केन्द्रबाट करिब ३५८ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका थप १४ वटा उत्पादन केन्द्रका करिब ६३० मेगावाट क्षमताका आयोजना नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुरक्षाका लागि बन्द गर्नुपरेको छ।
यसरी विभिन्न आयोजना बन्द हुँदा समग्रमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा क्षति
कालीगण्डकी नदीमा आएको बाढीले केही दिनअघि मात्रै उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुर्याएको छ।
कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा रहेका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ। कुस्मा–नयाँ बुटवल खण्डमा पनि समस्या देखिएको छ।
सुरक्षाका लागि विभिन्न जलविद्युत् आयोजना बन्द
बाढीको जोखिम बढेपछि कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार कालीगण्डकी कोरिडोरको क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न केही दिन लाग्न सक्नेछ। अन्य सम्भावित क्षतिग्रस्त क्षेत्रमा समेत प्राविधिक टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ।
चार जिल्ला पूर्ण रूपमा विद्युत्विहीन
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभी क्षमताका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।
क्षतिका कारण मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन बन्न पुगेका छन्। यस्तै प्युठान, रुकुमपूर्व र रोल्पामा पनि आइतबार विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
मधेश प्रादेशिक कार्यालयअन्तर्गत डुबानका कारण विभिन्न स्थानमा ७८ वटा विद्युत् पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालनको प्रयास
प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
उहाँका अनुसार सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ।
तर बाढीपहिरोका कारण सडकसमेत अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ। अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्न सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिएको छ।
कर्मचारीको सुरक्षालाई प्राथमिकता
प्राकृतिक विपत्का कारण थप जोखिम उत्पन्न हुन सक्ने भएकाले मर्मत तथा पुनर्स्थापनाका क्रममा कर्मचारी र प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा अवस्था मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने र क्षतिग्रस्त संरचनाको मर्मत गरी सेवा पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ।
स्रोत : नेपाल विद्युत् प्राधिकरण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























