08/05/2026, 17:23:32
बुधबार, साउन २०, २०८३

एरिका गुरुङ र दीपेन्द्रसिंह ऐरी वर्षका उत्कृष्ट खेलाडी घोषित


काठमाडौं । करातेकी स्टार खेलाडी एरिका गुरुङ महिलातर्फ र नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी पुरुषतर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

हाम्रो खेलकुद डटकमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो। दीपेन्द्रको अनुपस्थितिमा उनको अवार्ड राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले ग्रहण गरेकी थिइन्।

अवार्ड एरिका र दीपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र भाटभटेनी होल्डिङका निर्देशक कल्याण गुरुङले प्रदान गरेका थिए।

अवार्डसँगै एरिका र दीपेन्द्रले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। वार्षिकोत्सव कार्यक्रमअघि ‘हाम्रो खेलकुद कन्क्लेभ’ समेत आयोजना गरिएको थियो।

करातेमा एरिकाको उत्कृष्ट यात्रा

नेपाली करातेकी प्रतिभाशाली खेलाडी एरिका गुरुङले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्। उनको प्रदर्शनले नेपाली करातेलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

एरिकाको खेल कौशल, निरन्तरता र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलतालाई मूल्यांकन गर्दै उनलाई महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

पुरुषतर्फ दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शन

नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा प्रभाव पार्न सक्ने दुर्लभ अलराउन्डर हुन्। पछिल्लो समय नेपाली क्रिकेटले हासिल गरेका महत्वपूर्ण उपलब्धिमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ।

दीपेन्द्र विश्व कीर्तिमानी खेलाडीसमेत हुन्। सन् २०२३ मा चीनको हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उनले केवल ९ बलमा अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका थिए।

त्यसैगरी एसीसी मेन्स प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै उनले विश्व क्रिकेटकै दुर्लभ उपलब्धिमध्ये एक आफ्नो नाममा दर्ज गरेका छन्।

टोलीलाई आवश्यक परेको समयमा ‘ब्रेक थ्रु’ दिलाउने क्षमता भएका दीपेन्द्र ब्याटिङसँगै बलिङ र फिल्डिङमा पनि उत्तिकै प्रभावशाली छन्। उनको नेतृत्वमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण प्रदर्शन गर्दै आएको छ।

आईसीसी टी–२० विश्वकपमा पनि दीपेन्द्र नेपालका प्रभावशाली खेलाडी बने। लगातार दुई अर्धशतक प्रहार गर्दै उनले आफ्नो क्षमता प्रमाणित गरेका थिए। पछिल्ला १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १३३ को स्ट्राइक रेट र ३९.७० को औसतमा ३९७ रन बनाएका छन्। यस क्रममा उनले तीन अर्धशतक प्रहार गरेका छन्। बलिङतर्फ उनले १० विकेट लिएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनको प्रदर्शन प्रभावशाली रह्यो। पछिल्ला १५ खेलमा उनले ४१ भन्दा बढीको औसतमा ६१९ रन बनाएका छन्। जसमा एक शतक र पाँच अर्धशतक सामेल छन्। बलिङतर्फ उनले १६ विकेट हात पारेका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि दीपेन्द्रले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरेका थिए। कप्तानका रूपमा उनले सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याएका थिए।

ब्याटिङ, बलिङ, फिल्डिङ र नेतृत्वमा उत्कृष्ट योगदान दिँदै आएका दीपेन्द्रलाई पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो।

एरिका र दीपेन्द्रलाई प्रदान गरिएको यस सम्मानले नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको योगदानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।