08/04/2026, 13:16:55
मङ्गलबार, साउन १९, २०८३

समयमै मनसुन सक्रिय हुँदा धान रोपाइँ तीव्रः मधेशमा ९१ प्रतिशतभन्दा बढी सम्पन्न


काठमाडौं, श्रावण १९ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा हुँदा देशभर धान रोपाइँ तीव्र गतिमा अघि बढेको छ। प्रदेशस्तरको तथ्याङ्क अनुसार श्रावण १५ गतेसम्म देशभर ९२.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य प्रगति हो।

राष्ट्रियस्तरमा रोपाइँमा उल्लेख्य प्रगति
कृषि तथ्याङ्क अनुसार श्रावण १५ गतेसम्म कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ८ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गत वर्ष श्रावण १८ गतेसम्म ८३.९३ प्रतिशत (११ लाख ५७ हजार ४७ हेक्टर) रोपाइँ भएकोमा यस वर्ष समयमै वर्षाका कारण रोपाइँको प्रगति उल्लेख्य रूपमा अगाडि बढेको हो।

प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा ९९.७९, बागमतीमा ९६.१२, लुम्बिनीमा ९४.८३, कर्णालीमा ९४.८, गण्डकीमा ९२.१३, मधेशमा ९०.७२ र कोशी प्रदेशमा ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

गोरखामा ९६ प्रतिशत रोपाइँ सम्पन्न
गोरखा जिल्लामा पनि समयमै मनसुन सक्रिय भएकाले ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ। विगतका वर्षमा साउनको दोस्रो सातासम्म ६० देखि ६५ प्रतिशत मात्रै रोपाइँ हुने गरेकोमा यस वर्ष सोमबारसम्म ९६ प्रतिशत सम्पन्न भएको हो।

जिल्लाभर १ हजार १४० हेक्टर क्षेत्रफलमध्ये करिब १० हजार १०० हेक्टरमा धान रोपिने अनुमान गरिएको छ। दरौँदी, फुसुण्डे, शेराफाँट, ज्यादुल, टारी, सिर्दी, दर्बुङ र बोर्लाङलगायतका प्रमुख फाँटहरूमा रामधान, सावित्री, सुख्खा–२ जस्ता उन्नत जातका साथै च्याम्पियन र यूएस–३१२ नामका हाइब्रिड धान रोपिएको छ। समयमै रोपाइँ सम्पन्न हुने भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

मधेशमा अन्तिम चरणमा रोपाइँ
यस्तै, मधेश प्रदेशमा पनि धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म तीन लाख ५० हजार १ सय १८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, जुन रोपाइँ योग्य क्षेत्रफलको ९१.५५ प्रतिशत हो।

प्रदेशका ८ जिल्लामध्ये सिरहामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै, बारामा ५, सर्लाहीमा ९, रौतहटमा ९, पर्सामा ९१, सप्तरीमा ९०, धनुषामा ८५ र महोत्तरीमा ७४.७७ प्रतिशत रोपाइँ भएको छ। अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको निर्देशनालयले जनाएको छ।

साउन मसान्तसम्म देशभर शतप्रतिशत धान रोपाइँ सम्पन्न हुने र यसले राष्ट्रिय धान उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि विज्ञहरूको विश्वास छ।