07/31/2026, 13:26:53
शुक्रबार, साउन १५, २०८३

अनन्त र एरिक बङ्गलादेशको फोर्टिस एफसीमा, रश्मि भुटानको ट्रान्सपोर्ट युनाइटेडमा


काठमाडौं । नेपालमा घरेलु फुटबल गतिविधि अहिले ठप्प भए पनि नेपाली राष्ट्रिय खेलाडीहरू विदेशी क्लबमा आबद्ध हुने क्रम भने रोकिएको छैन । पछिल्लो समय नेपाली पुरुष राष्ट्रिय टोलीका प्रमुख खेलाडी अनन्त तामाङ र एरिक विष्ट बङ्गलादेशको फोर्टिस एफसी लिमिटेडमा आबद्ध भएका छन् भने महिला टोलीकी स्ट्राइकर रश्मि घिसिङ भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा आवद्ध भएकी छन् ।

बङ्गलादेश प्रिमियर लिगका लागि फोर्टिस एफसीले डिफेन्डर अनन्त तामाङसँगको सम्झौता नवीकरण गरेको हो । यता, एरिक विष्टका लागि फोर्टिस एफसी नयाँ क्लब हो । एरिकले यसअघि बङ्गलादेशी लिगमै ब्रदर्स युनियनबाट खेलेका थिए भने अन्तर्राष्ट्रिय फुटबलमा पनि उनको पदार्पण बङ्गलादेशविरुद्ध नै भएको थियो । पछिल्लो जानकारी अनुसार, यी दुवै खेलाडी बङ्गलादेश पुगिसकेका छन् । फोर्टिस एफसीले बङ्गलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण पनि खेल्नेछ । बङ्गलादेश फुटबल लिग आगामी अगस्टमा सुरु हुँदैछ ।

यसैगरी, नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मि घिसिङ भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा आबद्ध भएकी छन् । रश्मि एन्फा राष्ट्रिय महिला लिग–२०८१ की सर्वाधिक गोलकर्ता हुन्, जसमा उनले कुल ३५ गोल गरेकी थिइन् । ट्रान्सपोर्ट युनाइटेडले सामाजिक सञ्जालमार्फत रश्मिलाई टिममा भित्र्याएको जानकारी सार्वजनिक गरेको हो । उल्लेख्य छ कि ट्रान्सपोर्ट युनाइटेडकै पुरुष टिममा नेपालका गोलरक्षक सन्तोष खत्री आबद्ध छन् भने युवा मिडफिल्डर कृतिशरत्न छुन्जु थिम्पु एफसीबाट भुटानी लिग खेलिरहेका छन् ।

भुटानको थिम्पुमा साउन १७ गतेदेखि राष्ट्रिय महिला लिगको ‘टियर १’ सुरु हुँदैछ । १० टिमको सहभागिता रहने प्रतियोगिता दोहोरो राउन्ड रोविनको संरचनामा खेलाइनेछ र कात्तिक १४ गते सम्पन्न हुनेछ । ट्रान्सपोर्ट युनाइटेड लेडिज टिममा नेपाली महिला खेलाडीहरूको बाहुल्य छ । यसअघि मिडफिल्डर दीपा शाही, स्ट्राइकर मीना देउवा, समीक्षा घिमिरे र अनुभवी खेलाडी अनिता केसी पनि यसै टिममा आबद्ध भइसकेका छन् ।

‘टियर १’ को उद्घाटन खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडिजले पारो एफसी वुमनसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, हालै नेपालकी मिडफिल्डरहरू सरू लिम्बू र रेनुका नगरकोटी पारो एफसीमा तथा आक्रामक डिफेन्डर पूजा राना थिम्पु सिटी एफसीमा आबद्ध भएका छन् ।